रौतहट — चन्द्रपुर नगरपालिकाको बैंक खाता सञ्चालनमा नआउँदा शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायत अत्यावश्यक सार्वजनिक सेवा प्रभावित भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रपुर नगर समितिले तत्काल खाता सञ्चालनमा ल्याउन माग गरेको छ। लामो समयदेखि खाता सञ्चालन हुन नसक्दा नगरवासीले अनावश्यक समस्या र सास्ती व्यहोर्नुपरेको भन्दै रास्वपाले समस्या तत्काल समाधान नभए नगरपालिका कार्यालयमा उपस्थित भएर दबाबमूलक कार्यक्रम गर्ने चेतावनीसमेत दिएको छ।
रास्वपा चन्द्रपुर नगर समितिले मंगलबार नगरपालिकामा पुगेर नगर प्रमुखलाई सम्बोधन गर्दै बैंक खाता तत्काल सञ्चालनमा ल्याउन मागसहितको विज्ञप्ति बुझाएको हो। नगर सभापति अरुण लामा, जिल्ला सदस्य अजयकुमार शाह, वडा नं. ४ का सभापति रेवती दाहाल, वडा नं. ६ का सभापति विष्णु थापा, युवा नेता सुशील यादव, नवीन शाह, सन्तोष काफ्लेलगायत रास्वपाका युवा तथा स्थानीय नेता–कार्यकर्ताको सहभागितामा विज्ञप्ति बुझाइएको थियो।
रास्वपा चन्द्रपुर नगर समितिका सभापति अरुण लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा नगरपालिकाको बैंक खाता सञ्चालनमा नआएका कारण शिक्षा, स्वास्थ्य, विभिन्न विकास तथा निर्माण कार्यलगायत अत्यावश्यक सार्वजनिक सेवाहरू प्रभावित भएको उल्लेख गरिएको छ। यसबाट सम्पूर्ण नगरवासीले अनावश्यक समस्या तथा सास्ती व्यहोर्नुपरेको भन्दै समितिले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा नगरपालिकाको नियमित प्रशासनिक तथा विकास निर्माणसम्बन्धी काममा प्रत्यक्ष असर पर्ने गरी बैंक खाता सञ्चालन हुन नसक्नु अत्यन्त गम्भीर विषय भएको उल्लेख छ। नगरवासीको दैनिक जीवन तथा सार्वजनिक सेवामा परेको असरलाई मध्यनजर गर्दै नगरपालिकाको बैंक खाता तत्काल सञ्चालनमा ल्याउन समितिले जोडदार माग गरेको छ।
रास्वपाले खाता सञ्चालनमा हालसम्म किन अवरोध भइरहेको हो भन्ने विषयमा नगरपालिकाले नगरवासीलाई स्पष्ट जानकारी दिनुपर्ने मागसमेत गरेको छ। विज्ञप्तिमा कुनै कानुनी, प्रशासनिक वा अन्य कारणले हालसम्म बैंक खाता सञ्चालन हुन नसकेको भए त्यसको वास्तविक कारण र समस्या समाधानका लागि भइरहेको पहलका सम्बन्धमा चन्द्रपुर नगरवासीलाई तत्काल सार्वजनिक रूपमा जानकारी गराउन नगरपालिकासँग अनुरोध गरिएको छ।
समितिले सार्वजनिक सेवा प्रभावित हुने अवस्था लामो समयसम्म कायम रहनु उचित नहुने पनि जनाएको छ। नगरवासीको मौलिक हक तथा सार्वजनिक सेवा प्रभावित भइरहेकाले सम्बन्धित निकायले तत्काल आवश्यक पहल गर्नुपर्ने उसको भनाइ छ।
विज्ञप्तिमार्फत रास्वपाले समस्या समाधान नभए शान्तिपूर्ण तथा लोकतान्त्रिक रूपमा आम नागरिकको सहभागितामा नगरपालिका कार्यालयमा उपस्थित भई विरोध तथा दबाबमूलक कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएको छ।
“सम्बन्धित निकायबाट तत्काल आवश्यक पहल नभएमा शान्तिपूर्ण तथा लोकतान्त्रिक रूपमा आम नागरिकको सहभागितामा नगरपालिका कार्यालयमा उपस्थित भई विरोध तथा दबाबमूलक कार्यक्रम गर्न बाध्य हुने” विज्ञप्तिमा उल्लेख छ।
रास्वपाले नगरवासीको समस्या तत्काल समाधान गरी सार्वजनिक सेवा नियमित र प्रभावकारी बनाउन सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षणसमेत गराएको छ।
चन्द्रपुर नगरपालिकाको बैंक खाता सञ्चालन हुन नसकेको विषयमा पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित तथा प्रसारित हुँदै आएका छन्। नगरसभा सम्पन्न भएको लामो समय बितिसक्दा पनि बजेट कार्यान्वयनका लागि आवश्यक प्रक्रिया पूरा हुन नसकेको भन्दै जनप्रतिनिधि तथा स्थानीयस्तरबाट समेत प्रश्न उठ्दै आएको छ।