रौतहट — रातको अँध्यारोमा लालबकैया खोलाको पानीमा काठ बगाएर तस्करी गर्ने प्रयास भइरहेको अवस्थामा डिभिजन वन कार्यालय, रौतहटको टोलीले ठूलो परिमाणमा सालको काठ बरामद गरेको छ।
जङ्गलसहिया सब–डिभिजन वन कार्यालयको कार्यक्षेत्रअन्तर्गत लालबकैया खोलाको गर्जा पुलबाट करिब २०० मिटर माथिल्लो भागमा सोमबार बिहान करिब २ बजे वन कर्मचारी तथा सुरक्षाकर्मीको संयुक्त टोलीले गस्ती तथा निगरानी गर्ने क्रममा पानीमा बगाएर ल्याइएको काठ फेला पारेको हो।
वन अधिकृत अनिलकुमार महतो, विनोद जेठरा र शेरबहादुर बुढाको संयुक्त गस्ती टोलीले खोलामा काठ फेला पारेपछि थप जनशक्तिका लागि जङ्गलसहिया सब–डिभिजन वन कार्यालयका कर्मचारी तथा सशस्त्र प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो।
वन कार्यालयका अनुसार बरामद काठमध्ये साल जातका गोलिया चार थान र चौपाटा एक थान गरी जम्मा पाँच थान छन्। बरामद काठको कुल परिमाण २७.४७ क्युबिक फिट रहेको छ।
वन कर्मचारी तथा सुरक्षाकर्मीको टोली देखेपछि काठ ओसारपसारमा संलग्न व्यक्तिहरू काठ छाडेर अँध्यारोको फाइदा उठाउँदै फरार भएको वन कार्यालयले जनाएको छ। उनीहरूले कहाँबाट काठ ल्याएका थिए र कसको संलग्नता थियो भन्नेबारे अनुसन्धान भइरहेको छ।
बरामद काठ आवश्यक कानुनी प्रक्रिया पूरा गरी वन कार्यालयको नियन्त्रणमा राखिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी भइरहेको डिभिजन वन कार्यालय, रौतहटले जनाएको छ।
लालबकैया खोलाको पानीमै काठ बगाएर ओसारपसार गरिएको घटनाले वन पैदावार तस्करीको नयाँ शैलीसमेत देखाएको छ। वन कार्यालयले वन क्षेत्रबाट हुने अवैध कटानी, ओसारपसार तथा चोरी–तस्करी नियन्त्रणका लागि नियमित गस्ती, निगरानी र सुरक्षाकर्मीसँगको समन्वयलाई थप प्रभावकारी बनाउने जनाएको छ।