रौतहट — चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरस्थित संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयमा अज्ञात समूहले ताला फुटाएर नगदसहित महत्वपूर्ण प्राविधिक उपकरण चोरी गरेको छ।
रौतहट बचत तथा ऋण सहकारी संघका अनुसार आइतबार राति कार्यालय बन्द रहेको अवस्थामा चोर समूहले कार्यालयको ताला फुटाई सेफ (तिजोरी) मा राखिएको २१ लाख ६९ हजार ५ सय ३४ रुपैयाँ नगद चोरी गरेको हो। चोरी भएको रकम र उपकरणबारे प्रारम्भिक विवरण प्राप्त भएको संघले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै सहकारीका पदाधिकारीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर घटनाबारे अनुसन्धान अघि बढाएको छ। कार्यालयमा जडान गरिएका सीसीटीभी क्यामेराको फुटेजसमेत प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको संघले जनाएको छ।
संघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा सहकारीको आन्तरिक लेखा तथा प्रविधि प्रणाली सुरक्षित रहेकाले सदस्यहरूको बचत र तथ्यांक सुरक्षित रहेको स्पष्ट पारेको छ। घटनालाई लिएर सेयर सदस्य, बचतकर्ता, सहकारीकर्मी तथा अन्य सरोकारवालालाई धैर्य राख्न र कुनै पनि भ्रममा नपर्न संघले आग्रह गरेको छ।
चोरीमा संलग्न व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउन तथा चोरी भएको धनमाल फिर्ता गराउन प्रहरीलाई आवश्यक सहयोग गरिरहेको संघले जनाएको छ। साथै, शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा संघलाई जानकारी गराउन स्थानीयवासीसँग आग्रह गरिएको छ।
प्रहरी अनुसन्धानको निष्कर्ष आएपछि घटनाबारे थप विवरण सार्वजनिक गरिने रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष विभु कुमार पोखरेल र महासचिव देवबहादुर सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।