रौतहट । राजनीतिक नेतृत्वले विकास र सामाजिक कामका लागि पद, पहुँच र सरकारी बजेटलाई प्रमुख आधार बनाइरहेका बेला मौलापुर नगरपालिका–६ पथरा बुधरामका इन्जिनियर प्रमोद कुमार यादवले भने आफ्नै मेहनतबाट आर्जन गरेको रकम गाउँका धार्मिक तथा सामाजिक संरचना निर्माणमा खर्चिन थालेका छन्। कुनै राजनीतिक पदमा नरहे पनि उनले निजी लगानीमा मन्दिर निर्माणदेखि सार्वजनिक प्रयोजनका पूर्वाधार तयार गर्ने काम अघि बढाएका छन्। यादवको यो पहलले ‘पदमा पुगेपछि मात्रै काम गर्न सकिन्छ’ भन्ने भाष्यलाई चुनौती दिएको स्थानीयको भनाइ छ।
४१ वर्षीय यादवले पछिल्लो पटक पथरा बुधरामस्थित रामजानकी मन्दिरको जग्गामा दुर्गा पूजा सञ्चालनका लागि बाउन्ड्रीवालसहित ट्रस्ट, पार्क र दुर्गा माताको मन्दिर निर्माण गर्ने योजना अघि सारेका छन्। स्थानीय बासिन्दाको सर्वसम्मत निर्णयअनुसार उक्त ट्रस्ट तथा मन्दिरको नामकरण यादवका बुबा चन्देश्वर प्रसाद यादव र आमा कुसुम कुमारी देवीको नामबाट गरिने भएको छ। निर्माणमा यादव र उनकी श्रीमती प्रियंकाचन्द यादवले लगानी गर्नेछन्।
यादवका अनुसार ट्रस्ट निर्माणमा मात्रै १५ लाख रुपैयाँभन्दा बढी खर्च हुनेछ। दुर्गा माताको मन्दिरलाई भव्य र आकर्षक बनाउने लक्ष्यसहित निर्माण सम्पन्न गर्न करिब एक करोड रुपैयाँभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ। ट्रस्ट निर्माण घटस्थापनाअघि नै पूरा गर्ने र मन्दिर निर्माणको सम्पूर्ण काम तीन वर्षभित्र सम्पन्न गर्ने यादवले बताएका छन्।
धार्मिक संरचना निर्माणमा यादवको यो पहिलो पहल भने होइन। उनले यसअघि आफ्नै निजी लगानीमा बरह्मबाबाको मन्दिर निर्माण कार्य अघि बढाएका थिए। उक्त मन्दिरको निर्माण अहिले अन्तिम चरणमा पुगेको छ। अधिकांश संरचना तयार भइसकेको र अब रंगरोगनलगायतका काम मात्रै बाँकी रहेको यादवले बताएका छन्। बरह्मबाबाको मन्दिर निर्माणमा ५० लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।
आफ्नो कमाइलाई व्यक्तिगत आवश्यकतामा मात्र सीमित नगरी गाउँको धार्मिक तथा सामाजिक विकासमा लगानी गर्ने यादवको शैलीले स्थानीयस्तरमा चर्चा पाएको छ। राजनीतिक दलका नेता तथा मन्त्रीले पदमा पुगेपछि मात्रै विकासका काम गर्न सकिने धारणा राख्ने गरेको सुनिए पनि यादवले भने कुनै सरकारी जिम्मेवारी वा राजनीतिक शक्तिको प्रतीक्षा नगरी निजी स्रोतबाटै निर्माणका काम अघि बढाएका छन्।
‘गाउँका लागि केही गर्न पद नै चाहिन्छ भन्ने छैन’ भन्ने सोचका साथ यादवले धार्मिक संरचना निर्माणमा लगानी गरिरहेको उनका निकटस्थहरू बताउँछन्। मन्दिर, ट्रस्ट र पार्क निर्माणले धार्मिक गतिविधिलाई व्यवस्थित बनाउनुका साथै स्थानीय समुदायका लागि जमघट तथा सार्वजनिक कार्यक्रम गर्ने स्थलसमेत तयार हुने अपेक्षा गरिएको छ।
रामजानकी मन्दिर परिसरमा निर्माण हुन लागेको ट्रस्ट, पार्क तथा दुर्गा माताको मन्दिरले पथरा बुधरामको धार्मिक पहिचानलाई थप बलियो बनाउने स्थानीयको विश्वास छ। बाउन्ड्रीवालसहितको संरचनाले मन्दिर परिसरलाई व्यवस्थित बनाउने र धार्मिक पर्व तथा पूजाआजाका अवसरमा भक्तजनलाई सहज हुने अपेक्षा गरिएको छ।
निर्माण कार्यमा यादवका ठूलो दाइ प्रदीप यादवसहित स्थानीय धर्मेन्द्र यादव, पनिलाल यादव, वडा अध्यक्ष ईश्वरदयाल यादव, फगुनी यादव, पुरुषोत्तम यादव र भगत साहलगायतले भौतिक तथा अन्य सहयोग गरिरहेका छन्। गाउँका बासिन्दाले पनि यादवको पहलको खुलेर प्रशंसा गरेका छन्।
स्थानीयका अनुसार निजी लगानीमा यति ठूलो परिमाणमा धार्मिक संरचना निर्माण गर्नु गाउँप्रतिको जिम्मेवारीबोधको उदाहरण हो। यादवले भने आफ्नो पहललाई व्यक्तिगत प्रचारभन्दा पनि गाउँको धार्मिक आस्था, सामाजिक एकता र भावी पुस्ताका लागि स्थायी संरचना निर्माण गर्ने प्रयासका रूपमा अघि बढाएका छन्।
बरह्मबाबाको मन्दिर निर्माण अन्तिम चरणमा पुग्नु र रामजानकी मन्दिर परिसरमा नयाँ ट्रस्ट, पार्क तथा दुर्गा माताको मन्दिर निर्माणको तयारी अघि बढ्नुले पथरा बुधराममा धार्मिक पूर्वाधार विकासको नयाँ अध्याय सुरु भएको स्थानीयको भनाइ छ। आफ्नै कमाइबाट गाउँमा लगानी गर्ने यादवको पहलले निजी क्षेत्र तथा व्यक्तिगत प्रयासबाट पनि सामुदायिक संरचना निर्माणमा योगदान गर्न सकिने सन्देश दिएको छ।