रौतहट — जिल्ला प्रहरी कार्यालय रौतहटले प्रहरी जवान हरिकिशोर प्रसाद कुर्मीलाई २०८३ भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।
आइतबार एक कार्यक्रम बिच इलाका प्रहरी कार्यालय बलरा, सर्लाही दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान कुर्मीलाई कार्यालय प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले भदौ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेका हुन्।
उत्कृष्ट प्रहरी घोषित कुर्मीलाई प्रहरी उपरीक्षक रिजालले प्रशंसा पत्र तथा पुरस्कार प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन्। प्रहरी सेवामा जिम्मेवारीप्रति लगनशीलता, कर्तव्यनिष्ठा तथा कार्यसम्पादनका आधारमा उनलाई महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी संगठनभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीको मनोबल बढाउन तथा अन्य कर्मचारीलाई समेत आफ्नो जिम्मेवारीप्रति थप प्रतिबद्ध बनाउन ‘उत्कृष्ट प्रहरी’ छनोट गरी सम्मान गर्ने गरिएको प्रहरीले जनाएको छ।