रौतहट । बारा निजगढ नगरपालिका–९ शान्ति टोलका १४ वर्षीय विद्यार्थी १५ दिनदेखि बेपत्ता भएका छन्। श्री गौरीशंकर माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत उनी भदौ २४ गते बिहान विद्यालय जान घरबाट निस्किएपछि सम्पर्कविहीन भएका हुन्।
परिवारका अनुसार उनी विद्यालय जाने भनेर घरबाट निस्किएका थिए। तर, बिहान करिब ९ः४० बजे विद्यालय नगई पूर्वतर्फ जाने बसमा चढेको जानकारी प्राप्त भएको छ। उनी जनकपुर जाने बसमा चढेको हुन सक्ने प्रारम्भिक जानकारी परिवारले पाएको जनाएको छ।
बेपत्ता विद्यार्थीले घरबाट निस्कने समयमा विद्यालयको रातो सर्ट र खरानी रंगको पाइन्ट लगाएका थिए। उनको खोजीका लागि परिवार तथा आफन्तले विभिन्न स्थानमा खोजतलास गरे पनि हालसम्म फेला पार्न सकेका छैनन्।
गत भदौ २४ गतेदेखि असोज ८ गतेसम्म १५ दिन बितिसक्दा पनि विद्यार्थी सम्पर्कमा नआएपछि परिवारले उनको खोजीमा सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ।
विद्यार्थीलाई कसैले देखेको वा उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा उनका बुबाको मोबाइल नम्बर ९८४५५५५२८१ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।