रौतहट । रौतहटको कटहरियामा सडक किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। कटहरिया नगरपालिका–५ कटहरिया टोलस्थित द ग्रिन एकेडेमी अगाडि भित्री ग्राभेल सडकको किनारमा बिहीबार करिब ४५–५० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार मृतक भारतको बिहार राज्यअन्तर्गत सीतामढी जिल्लाको जमुवा ग्राम घर भएका दिनेश साह सोनार हुन्। उनी पछिल्लो समय कटहरिया नगरपालिका–५ मै बस्दै आएका थिए। स्थानीयका अनुसार उनी मागेर हिँड्ने गरेका थिए।
बुधबार दिउँसो करिब ३ः४५ बजे स्थानीयले सडक किनारमा पुरुष मानिस मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय कटहरियाबाट प्रहरी नायब निरीक्षक जयप्रकाश शाहको कमान्डमा टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक उज्ज्वल क्षेत्रीको कमान्डमा SOCO सहितको टोलीसमेत घटनास्थल पुगेको थियो।
घटनास्थल इलाका प्रहरी कार्यालय कटहरियाबाट करिब एक किलोमिटर उत्तरतर्फ पर्छ। प्रहरीले मृतकको मृत्युको कारणबारे तत्काल केही खुलाएको छैन।
प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी बिहीबार साँझ ७ः३० बजे शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।