रौतहट, असोज ११ । रौतहटको चन्द्रपुर नगरपालिका–७ स्थित रंगपुर साझेदारी वन क्षेत्रमा रातिको समयमा गरिएको गस्तीका क्रममा अवैध रूपमा सालको गोलिया काठ ओसारपसार गरिरहेको आरोपमा एक जना पक्राउ परेका छन्।
चन्द्रपुर नगरपालिका–७, नयाँबस्ती कटानी निवासी अनिल रामलाई चन्द्रपुर सव–डिभिजन वन कार्यालय र रंगपुर साझेदारी वनबाट परिचालित संयुक्त वन गस्ती टोलीले आइतबार राति करिब ९ बजे नियन्त्रणमा लिएको हो।
नयाँबस्ती कटानीदेखि उत्तरतर्फ रहेको रंगपुर साझेदारी वन क्षेत्रमा गस्ती गर्ने क्रममा रामले साल जातको गोलिया काठ ओसारपसार गरिरहेको अवस्थामा फेला पारेपछि उनलाई नियन्त्रणमा लिइएको वन कार्यालयले जनाएको छ।
गस्ती टोलीले घटनास्थलबाट साल जातको गोलिया काठ ५ थान, जम्मा २४.७० क्युबिक फिट, काठ ओसारपसारमा प्रयोग भएको ३ थान साइकल र १ थान पिन्चा (आरा) समेत बरामद गरेको छ।
नियन्त्रणमा लिइएका राम तथा बरामद काठ र अन्य सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, रौतहटमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ।
वन क्षेत्रमा हुने अवैध काठ कटान, ओसारपसार तथा चोरी–तस्करी नियन्त्रणका लागि डिभिजन वन कार्यालयले नियमित तथा आकस्मिक गस्ती गर्दै आएको छ। सोही क्रममा चन्द्रपुर सव–डिभिजन वन कार्यालय र रंगपुर साझेदारी वनबाट खटिएको टोलीले रातिको समयमा समेत वन क्षेत्रमा निगरानी बढाएको हो।
गस्ती तथा नियन्त्रण कार्यमा डिभिजन वन कार्यालय रौतहट, चन्द्रपुर सव–डिभिजन वन कार्यालय, रंगपुर साझेदारी वन, सशस्त्र प्रहरी बेस सन्तपुर, प्रहरी चौकी बनबहुअरी र प्रहरी चौकी सन्तपुरका कर्मचारीको समन्वय तथा सहयोग रहेको वन कार्यालयले जनाएको छ।