रौतहट । लालबकैया नदीमा हामफालेर बेपत्ता भएका एक युवकको शव नदी किनारमा फेला परेको छ।
जिल्ला बारा, सिम्रौनगढ नगरपालिका–११ का अन्दाजी २५ वर्षीय सतेन्द्र कुमार यादवको शव रौतहटको राजपुर नगरपालिका–२, फतुवा क्षेत्रस्थित लालबकैया नदीको किनारमा फेला परेको हो। प्रहरीका अनुसार यादवको मानसिक अवस्था ठीक नभएको बताइएको छ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब १२ः५५ बजे देवाही गोनाही नगरपालिका–४ स्थित देवाही गोनाही–मौलापुर जोड्ने लालबकैया नदीको पुलमा मोटरसाइकलको पछाडि सवार यादव नदीमा हामफाली बेपत्ता भएका थिए।
बा २–०६२ प ८९४८ नम्बरको मोटरसाइकलमा बाराबाट रौतहटतर्फ आउँदै गर्दा पुलमा मोटरसाइकलको गति कम भएको समयमा यादव अचानक नदीमा हामफालेको प्रहरीले जनाएको छ।
बेपत्ता यादवको खोजीका लागि असोज १० गते बिहानदेखि सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहट तथा मातहतका कार्यालयबाट सशस्त्र प्रहरी निरीक्षक डिलबहादुर नेपालीको कमाण्डमा १५ जनाको डीएम टोली रबर बोटसहित परिचालन भएको थियो।
त्यस्तै, इलाका प्रहरी कार्यालय मौलापुरबाट प्रहरी नायब निरीक्षक अर्जुन पौडेलको कमाण्डमा ९ जनाको संयुक्त टोलीसमेत परिचालन गरी लालबकैया नदीमा खोज तथा उद्धार कार्य भइरहेको थियो।
खोजीका क्रममा शनिबार अपराह्न करिब ४ बजे राजपुर नगरपालिका–२ फतुवा क्षेत्रस्थित झोलुङ्गे पुलबाट करिब २०० मिटर तल नदी किनारको बालुवामा अड्किएको अवस्थामा यादवको शव फेला परेको प्रहरीले जनाएको छ।
शव फेला परेको स्थानमै रहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव व्यवस्थापनको कार्य भइरहेको प्रहरीले जनाएको छ।