मौलापुर । लालबकैया नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि सम्भावित कटान र बाढीको जोखिम नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक भरत केसी आफैं नदीमा पसेर नियन्त्रणको प्रयास गरेका छन्। आइतबार केसीको कमाण्डमा परिचालित प्रहरी टोलीले नदीको कटान रोक्न करिब ६ हजार बोरा बालुवा प्रयोग गरी जोखिममा परेको बाँध जोगाएको हो।
नदीको बहाव तीव्र बन्दै गएपछि बाँध कटानको जोखिम बढेको थियो। अवस्था गम्भीर बन्दै गएपछि प्रहरी निरीक्षक केसीले मातहतका प्रहरीलाई परिचालन गर्नुका साथै आफैं पनि जोखिमयुक्त क्षेत्रमा पुगेर कटान नियन्त्रणको काममा सक्रियता देखाएका थिए। प्रहरीले स्थानीयको सहयोगमा बालुवाले भरिएका बोरा नदीको कटान भइरहेको क्षेत्रमा राखेर बाँध संरक्षणको प्रयास गरेको थियो।
प्रहरी निरीक्षक केसीको प्रत्यक्ष नेतृत्वमा गरिएको प्रयासपछि बाँधमा भइरहेको कटान नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। रातिसम्म प्रहरी टोली नदी तथा बाँध क्षेत्रमा खटिएर अवस्था निगरानीमा राखेको थियो। प्रहरीको सक्रियताका कारण तत्कालका लागि सम्भावित ठूलो क्षति टरेको स्थानीयको भनाइ छ।
बाढीको अवस्था अनुगमन गर्न मौलापुर नगरपालिकाकी मेयर रीना साहसहित सुरक्षा निकायका अधिकारीहरू समेत प्रभावित क्षेत्रमा पुगेका थिए। त्यस्तै, अबेर रातिसम्म मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले समेत स्थलगत अनुगमन गरेका थिए।
अनुगमनका क्रममा मन्त्री महतोले प्रहरी निरीक्षक केसीले देखाएको सक्रियताको प्रशंसा गरेका छन्। उनले प्रदेश सरकार तथा गृह मन्त्रालयका तर्फबाट केसीको योगदानको उचित मूल्यांकन गरि पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरका छन ।
लालबकैया नदीमा बहाव बढ्दै गएपछि मौलापुर क्षेत्रका बस्ती तथा स्थानीयको जनधनको सुरक्षामा चुनौती थपिएको थियो। यस्तो अवस्थामा प्रहरी निरीक्षक केसीले आफ्नो टोलीलाई मात्र परिचालन नगरी आफैं जोखिमपूर्ण स्थानमा पुगेर बाँध संरक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्थानीयको भनाइ छ।
सुरक्षा निकायका उच्च अधिकारीहरूले समेत केसीको सक्रियताको प्रशंसा गर्दै उनको कामको उचित मूल्यांकन गरिने बताएका छन्। बाढी नियन्त्रणका क्रममा देखाएको सक्रियताको कदर गर्दै स्थानीयहरूले प्रहरी निरीक्षक भरत केसीलाई उत्कृष्ट प्रहरीका रूपमा सम्मान गर्नुपर्ने मागसमेत गरेका छन्।
लालबकैया नदीको बहाव अझै बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले नदी आसपासका क्षेत्रमा निगरानी बढाएको छ। बाँधको अवस्था र पानीको बहाव निरन्तर निरीक्षण गर्दै जोखिम देखिए तत्काल उद्धार तथा नियन्त्रणका लागि प्रहरी टोली तयारी अवस्थामा राखिएको छ।