रौतहट, ११ असोज । राजदेवी नगरपालिका–८ र ९ का समुदायस्तरीय विपद् व्यवस्थापन समिति (सीडीएमसी) लाई विपद्का बेला खोज तथा उद्धार र मानवीय प्रतिकार्यमा प्रयोग हुने सामग्री हस्तान्तरण गरिएको छ।
KOICA को आर्थिक सहयोग तथा OXFAM in Nepal र ग्रामीण विकास केन्द्र नेपाल (RDC Nepal) को साझेदारीमा सञ्चालित ‘Empowering Her: Advancing Women’s Economic and Political Leadership for Climate Resilient Communities’परियोजनाअन्तर्गत ‘Support to Community Disaster Preparedness and Humanitarian Responses (Rapid Aid)’कार्यक्रममार्फत ती सामग्री उपलब्ध गराइएको हो।
कुल ७ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरका सामग्री राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादवले सम्बन्धित वडा तथा सीडीएमसीका प्रतिनिधिलाई हस्तान्तरण गरेका थिए।
विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि रिचार्जेबल टर्चलाइट १० थान, मेगाफोन ४ थान, अस्थायी टेन्ट ४ थान, रबर बोट सेट १ र लाइफ ज्याकेट १० थान उपलब्ध गराइएको छ। रबर बोट सेटमा १६ फिटको इन्फ्लेटेबल रबर बोट, र्याफ्टिङ हेल्मेट २ थान, प्याडल ४ थान र ह्यान्ड एयर पम्प १ थान रहेका छन्।

राजदेवी नगरपालिका बाढी तथा डुबानको जोखिममा रहेको क्षेत्र भएकाले विपद्का समयमा समुदायस्तरमै तत्काल खोज, उद्धार र सुरक्षित स्थानान्तरण गर्न यस्ता सामग्री उपयोगी हुने अपेक्षा गरिएको छ। यसअघि पनि राजदेवी नगरपालिका–८ मा विपद्का समयमा सुरक्षित आश्रयका लागि बहुउद्देश्यीय सुरक्षित आश्रयस्थल निर्माण भइसकेको छ। उक्त आश्रयस्थल करिब २०० जनालाई आपत्कालीन अवस्थामा सुरक्षित राख्न सक्ने क्षमताको रहेको परियोजना विवरणमा उल्लेख छ।
सामग्री हस्तान्तरण कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष रामईश्वर राय यादव तथा सीडीएमसी अध्यक्ष रुपकलिया देवी राम र वडा नं. ९ का वडाध्यक्ष महेन्द्र दास तथा सीडीएमसी अध्यक्ष ब्रह्मदेव दासले आ–आफ्नो वडा तथा समितिको तर्फबाट सामग्री ग्रहण गरेका थिए।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विश्वविजय शर्मा, RDC Nepal का उपाध्यक्ष तथा परियोजनाका फोकल पर्सन कुमारी ममता झा, कार्यकारी निर्देशक आशिष कुमार सिंह, परियोजना संयोजक राना शमिम, सामाजिक परिचालक सन्तोष कुमार मिश्रा तथा नगरपालिकाका डीआरआर फोकल पर्सन **चन्द्रभूषण कुमार यादव लगायतको उपस्थिति थियो।
सामग्री हस्तान्तरणपछि वडा तथा सीडीएमसीका प्रतिनिधिले विपद्का बेला समुदायबाटै तत्काल प्रतिकार्य गर्न सहयोग पुग्ने बताएका थिए। उनीहरूले उपलब्ध सामग्रीलाई सुरक्षित रूपमा भण्डारण गरी आवश्यक परेको समयमा प्रभावकारी परिचालन गर्ने प्रतिबद्धता जनाएका छन्।
RDC Nepal ले रौतहटमा विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाका अनुसार बाढी तथा अन्य विपद्का समयमा समुदायको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
विपद् आउनुअघि नै आवश्यक सामग्री, जनशक्ति र उद्धार संयन्त्र तयारी अवस्थामा राख्न सकिएमा क्षति न्यूनीकरण गर्न सकिन्छ। राजदेवीका दुई वडामा गरिएको यो सामग्री हस्तान्तरणले समुदायस्तरमा विपद् पूर्वतयारी र तत्काल प्रतिकार्य क्षमता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।