रौतहट । रौतहटको गौर नगरपालिका–९ सिरसियामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
सोमबार साँझ करिब ७:४५ बजे गौरबाट हजमिनियातर्फ जाँदै गरेको BR 22 H 6159 नम्बरको मोटरसाइकलले घर अगाडि सडकमा उभिरहेका गौर–९ सिरसिया निवासी करिब ७२ वर्षीय नारायण बैठालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
मोटरसाइकलको ठक्करबाट टाउको र दाहिने खुट्टामा चोट लागेका बैठालाई तत्काल प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज पठाइएको थियो। उपचारका क्रममा राति करिब ९:४५ बजे वीरगन्जस्थित सर्वोत्तम अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि मोटरसाइकल चालक पर्सा वीरगन्ज घर भई हाल राजदेवी नगरपालिका–२ हजमिनियास्थित मामा सञ्जीव भगतको घरमा बस्दै आएका करिब २२ वर्षीय अमित भगत फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गौरबाट प्रहरी सहायक निरीक्षक महेन्द्र चौधरीको कमाण्डमा तथा प्रहरी चौकी ब्रह्मपुरीबाट प्रहरी सहायक निरीक्षक विनोद राउत कुर्मीको कमाण्डमा प्रहरी टोली खटिएको थियो। प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
मृतक बैठाको शव पोस्टमार्टमका लागि सोमबार राति १२:२० बजे सर्वोत्तम अस्पताल वीरगन्जबाट प्रादेशिक अस्पताल गौर ल्याई शवगृहमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।