गरुडा । रौतहटको गरुडा नगरपालिका–२ गेडही गुठीबाट घर परिसरमा पार्किङ गरी राखिएको १६० सीसीको अप्पाचे मोटरसाइकल चोरी भएको छ।
गत शनिबार राति करिब १ः३० बजे भोजेन्द्र कुमार सहनीको घर परिसरमा पार्किङ राखिएको मधेश प्र.०३-०४० प. ५१३० नम्बरको १६० सिसी को कालो रङको मोटरसाइकल चोरी भएको हो।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडामा खबर गरिएको थियो। इलाका प्रहरी कार्यालय गरुडा, अपराध अनुसन्धान शाखाका अनुसार चोरी भएको मोटरसाइकलको इन्जिन नम्बर CE8KS2913595 र चेसिस नम्बर MD634BE83S2K14962 रहेको छ।
प्रहरीका अनुसार मोटरसाइकल घर परिसरमा पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। मोटरसाइकल कसले र कुन दिशातर्फ लगेको भन्ने विषयमा भने हालसम्म यकिन भएको छैन।
घटनापछि इलाका प्रहरी कार्यालय गरुडाले मोटरसाइकलको खोजी तथा घटनासम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरी निरीक्षक उज्ज्वल क्षेत्रीले मातहतका प्रहरी इकाइ तथा टोलीसँग आवश्यक समन्वय गरी चोरी भएको मोटरसाइकलको खोजी गर्न निर्देशन दिएका छन्।
प्रहरीले मोटरसाइकलको पहिचानका लागि इन्जिन र चेसिस नम्बरलाई आधार बनाएको जनाएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा मोटरसाइकलको अवस्थाबारे थप विवरण खुल्न बाँकी छ। घटनासम्बन्धी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।