रौतहट । रौतहट सदरमुकाम गौरमा खाद्यवस्तुको गुणस्तर तथा बजार अनुगमनका क्रममा सडेगलेका खाद्यान्न बिक्री गरेको भेटिएपछि एक डेरी तथा मिठाई पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।
बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज, जिल्ला प्रशासन कार्यालय रौतहट तथा उद्योग वाणिज्य संघ रौतहटका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले गौर नगरपालिका–घण्टाघर चोकस्थित फुलतारा डेरी एन्ड स्विट्स भण्डारमा अनुगमन गर्दा म्याद गुज्रिएका तथा गुणस्तरमा समस्या देखिएका खाद्यवस्तु बिक्रीका लागि राखिएको भेटिएपछि जरिवाना गरेको हो।अनुगमन टोलीले पसलमा बिक्रीका लागि राखिएका खाद्यवस्तुको म्याद, उत्पादन मिति, भण्डारण अवस्था, लेबल तथा गुणस्तरलगायतका विषयमा जाँच गरेको थियो। सो क्रममा उपभोगका लागि उपयुक्त नभएका खाद्य सामग्री फेला परेपछि पसल सञ्चालकलाई कारबाही गरिएको अनुगमन टोलीले जनाएको छ।उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका खाद्यवस्तुको बिक्री–वितरणमा व्यवसायीले विशेष सावधानी अपनाउनुपर्ने अनुगमन टोलीले जनाएको छ। म्याद गुज्रिएका, सडेगलेका वा गुणस्तरहीन खाद्यवस्तु बिक्रीका लागि राख्नु उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएकाले बजार अनुगमनलाई निरन्तरता दिइने टोलीका प्रतिनिधिले बताए।अनुगमनका क्रममा खाद्यवस्तुको गुणस्तरबाहेक पसलमा मूल्यसूची, बिल–बिजक, लेबलिङ तथा खाद्य सामग्रीको उचित भण्डारणको अवस्थासमेत निरीक्षण गरिएको थियो। टोलीले व्यवसायीलाई खाद्यवस्तु सुरक्षित र स्वच्छ तरिकाले भण्डारण तथा बिक्री गर्न निर्देशन दिएको छ।
चाडपर्व नजिकिँदै गर्दा गौर बजारमा खाद्यान्न तथा मिठाईजन्य सामग्रीको कारोबार बढ्ने भएकाले अनुगमनलाई तीव्रता दिइएको हो। चाडपर्वका बेला उपभोक्ताको माग बढ्ने र यही मौका छोपेर म्याद गुज्रिएका वा गुणस्तरहीन वस्तु बिक्री हुन सक्ने भएकाले नियमित बजार अनुगमन आवश्यक रहेको उपभोक्ताले बताएका छन्।
अनुगमन टोलीले गौर बजारका अन्य होटल तथा पसलहरूमा समेत खाद्यवस्तुको गुणस्तर, सरसफाइ र भण्डारण अवस्थाबारे निरीक्षण गरेको छ। टोलीले व्यवसायीलाई उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कुनै पनि खाद्य सामग्री बिक्री नगर्न चेतावनीसमेत दिएको छ। अनुगमन टोलीले बजारमा भेटिएका कैफियतअनुसार आवश्यक कारबाही गर्ने र आगामी दिनमा समेत अनुगमनलाई निरन्तरता दिने जनाएको छ।