रौतहट, १७असोज । रसुवागढी क्षेत्रमा गत भदौ १० गते आएको बाढीपहिरोमा बेपत्ता भएका रौतहटको मौलापुर नगरपालिका–७ सगैयाका २२ वर्षीय सैनिक जवान अभिषेक गुप्ताको परिवारले शनिबार हिन्दु परम्पराअनुसार कुशको शव बनाई अन्तिम संस्कार गरेको छ ।
नेपाली सेनाको श्री शेर गणमा कार्यरत गुप्ता बाढीपहिरोपछि बेपत्ता भएका थिए । उनको खोजीका लागि नेपाली सेना, सुरक्षा निकाय तथा स्थानीयवासीले लामो समयसम्म प्रयास गरे पनि अवस्था र ठेगाना पत्ता लाग्न सकेन । लामो समयसम्म खोजी गर्दा समेत कुनै जानकारी प्राप्त नभएपछि परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार कुशको शव बनाई अन्तिम दाहसंस्कार गरेको हो ।
छोराको वास्तविक अवस्था अझै थाहा नभएको अवस्थामा अन्तिम संस्कार गर्नुपर्दा परिवार गहिरो पीडामा छ । अभिषेकका बुबा बैद्यनाथ गुप्ताले लामो समयसम्म छोरा फर्केर आउने आशा राखेको भए पनि कुनै जानकारी नआएपछि बाध्य भएर धार्मिक संस्कार पूरा गर्नुपरेको बताउनुभयो ।
गरिब परिवारमा जन्मिएका अभिषेकले नेपाली सेनामा भर्ती हुन निकै मेहनत गरेका थिए । उनी सेनामा प्रवेश गरेपछि गुप्ता परिवारमा खुसी छाएको थियो । देशसेवामा लाग्ने अवसर पाएको र अब परिवारको आर्थिक अवस्था पनि सुधार हुने आशा परिवारले गरेको थियो ।
तर, त्यो खुसी धेरै समय टिकेन । देशसेवामा खटिएका २२ वर्षीय छोराको बाढीपहिरोमा बेपत्ता भएको खबरले परिवारलाई शोकमा डुबायो । खोजीका क्रममा लामो समयसम्म पनि उनको अवस्था पत्ता लागेन । शव फेला नपरेपछि पनि परिवारले अभिषेक फर्केर आउने आशा छाडेको थिएन ।
शनिबार परिवारले त्यही आशालाई मनभित्रै राखेर कुशको शव बनाई अन्तिम संस्कार गरेको हो । मृत्युको पुष्टि गर्ने शवसमेत नदेखी छोराको अन्तिम संस्कार गर्नुपर्दाको पीडा परिवारले भोगिरहेको छ ।
अभिषेकको अन्त्येष्टिका क्रममा नेपाली सेनाले सैनिक सम्मानसहित सलामी दिएको थियो । सगैयामा पनि शोक र सन्नाटा छाएको थियो । देशसेवामा गएको गाउँको एक युवा बेपत्ता भएपछि लामो समयदेखि चिन्तामा रहेको गाउँलेले शनिबार उनलाई कुशको शवमार्फत अन्तिम बिदाइ गरेका हुन् ।
तर, अभिषेकको वास्तविक अवस्था अझै अज्ञात छ । शव फेला नपरेका कारण परिवारको मनमा उनको खोजी र अवस्थाबारेको अनिश्चितता भने कायमै छ।