रौतहट,२१ असोज । मधेस प्रदेश सरकार मातहत रहेको बंकुल–हिमालीबास–कोल्बी सडकअन्तर्गत मौलापुर नगरपालिका–६ पथराबुधराम खण्ड लामो समयदेखि जीर्ण बनेपछि नगरपालिकाले आफ्नै पहलमा सडक मर्मतको काम अघि बढाएको छ। सडक मर्मतका लागि सम्बन्धित निकायमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि तत्काल काम अघि नबढेपछि नगरप्रमुख रिना कुमारी साहको निर्देशनमा नगरपालिकाले मर्मत थालेको हो।
पथराबुधराम क्षेत्रमा सडकमा खाल्डाखुल्डी बढ्दै गएपछि स्थानीय बासिन्दा तथा यात्रुले आवतजावतमा समस्या भोग्दै आएका थिए। जीर्ण सडकका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको भन्दै स्थानीयले तत्काल मर्मतको माग गर्दै आएका थिए। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशस्तरका सडकको निर्माण, सञ्चालन, अनुगमन तथा मर्मतसम्भार गर्ने जिम्मेवारी लिएको छ। मन्त्रालयअन्तर्गत जिल्लागत पूर्वाधार विकास कार्यालयहरू रहेका छन्। मधेस प्रदेश सरकारको बजेटसम्बन्धी आधिकारिक दस्तावेजमा समेत मौलापुर क्षेत्रका सडक मर्मत तथा स्तरोन्नतिका योजना पूर्वाधार विकास कार्यालय रौतहटअन्तर्गत राखिएको देखिन्छ।
यसरी प्रदेश सरकारको जिम्मेवारीमा रहेको सडक जीर्ण हुँदा तत्काल मर्मत हुन नसकेपछि स्थानीय सरकार आफैँ अघि बढेको हो। नगरप्रमुख साहको निर्देशनमा सुरु भएको मर्मत कार्यले सडकमा आवतजावत गर्ने सर्वसाधारणलाई तत्काल राहत पुग्ने अपेक्षा गरिएको छ।नगरप्रमुख साहले स्थानीय नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्यालाई प्राथमिकतामा राख्दै प्रदेश सरकारको जिम्मेवारीभित्र पर्ने पूर्वाधार मर्मतमा समेत पहल गरेकी हुन्। स्थानीय तहको अधिकारक्षेत्रभन्दा बाहिरको सडक भए पनि जनताको समस्या समाधानका लागि नगरपालिकाले तत्काल कदम चालेको नगरप्रमुख सहको भनाइ छ।
यसअघि पनि मौलापुर नगरपालिकाले लालबकैया नदीमा बाढीका बेला स्थानीयस्तरबाट नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि सक्रियता देखाएको थियो। बाढीको जोखिमका बेला नगरपालिकाको नेतृत्वले देखाएको सक्रियतापछि स्थानीयस्तरमा नगरप्रमुख साहको भूमिकाबारे चर्चा भएको थियो। पथराबुधराम सडकको विषयमा पनि स्थानीयको गुनासो सम्बोधन गर्न नगरपालिकाले सम्बन्धित प्रदेश निकायको ध्यानाकर्षण गराउँदै आएको थियो। तर सडकको मर्मत तत्काल अघि नबढेपछि नगरपालिकाले आफ्नोतर्फबाट काम सुरु गरेको हो। यसअघि सडक मर्मतका लागि पहल भइरहेको र प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयका प्राविधिकसँग सडकको अवस्थाबारे जानकारी गराइएको नगरपालिकाको पूर्व निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं इन्जिनियर रामबाबु साहले आफ्नो समाजिक संजाल फेसबुक मार्फत जानकारी गराएको थिए। स्थानीय सरकारको पहलमा सडक मर्मत सुरु हुनु तत्कालका लागि सकारात्मक भए पनि यसले प्रदेश सरकारको जिम्मेवारी भने अन्त्य गर्दैन। सडकको दीर्घकालीन मर्मत, स्तरोन्नति र गुणस्तरीय निर्माणका लागि सम्बन्धित प्रदेश मन्त्रालय तथा पूर्वाधार विकास कार्यालयले आवश्यक बजेट र प्राविधिक व्यवस्थापन गर्नुपर्ने हुन्छ।
स्थानीयवासीले पनि नगरपालिकाको पहलबाट तत्काल राहत मिल्ने भए पनि सडकलाई स्थायी रूपमा व्यवस्थित बनाउन प्रदेश सरकारले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन्। उनीहरूका अनुसार पटक–पटक मर्मत गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै सडकको दीर्घकालीन स्तरोन्नति आवश्यक छ।
प्रदेश सरकारको मातहत रहेको सडकमा स्थानीय सरकार आफैँले मर्मत सुरु गर्नुले जनताको समस्या समाधानमा स्थानीय नेतृत्वले देखाएको तत्परता देखाए पनि यससँगै प्रदेश सरकारको कार्यशैलीमाथि प्रश्नसमेत उठेको छ। स्थानीय तहले आफ्नो स्रोत र पहलबाट तत्कालको समस्या समाधान गर्न खोजे पनि प्रदेश र संघीय सरकारका निकायले आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने स्थानीयको भनाइ छ।
नगरप्रमुख रिना साहको निर्देशनमा सुरु भएको सडक मर्मतले पथराबुधरामका स्थानीयलाई तत्काल राहत दिने अपेक्षा गरिएको छ। तर अब सडकलाई स्थायी र सुरक्षित बनाउन प्रदेश सरकारले पनि आफ्नो जिम्मेवारीअनुसार काम अघि बढाउनुपर्ने देखिन्छ।