रौतहट । बंकुल-हिमालीबास-कोल्बी मौलापुर सडकअन्तर्गत नगरपालिका-६ पथराबुधराम खण्डमा लामो समयदेखि सडकमा खाल्डाखुल्डी परेपछि स्थानीय बासिन्दा तथा यात्रुले सास्ती खेप्दै आएका छन्। सडक जीर्ण हुँदा आवतजावतमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको भन्दै स्थानीयले तत्काल मर्मतको माग गरेका छन्।
सडकको अवस्थाबारे स्थानीय भद्रभलादमी, बुद्धिजीवी तथा पत्रकारले चासो देखाएपछि मर्मतका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। मौलापुर नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत एवं इन्जिनियर रामबाबु साहाले आइतबार सामाजिक सञ्जालमार्फत सडक मर्मतका लागि पहल भइरहेको जानकारी दिएका छन्। साहाका अनुसार उनले सडक मर्मत सम्भारको जिम्मेवारी रहेको मधेस प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयका डिभिजनल इन्जिनियर (डीई) विजयकुमार यादवसँग सम्पर्क गरी पथराबुधराम खण्डको सडकको अवस्थाबारे जानकारी गराएका थिए। यादवले सोमबार असोज १९ गते साइट इन्जिनियरबाट सडकको स्थलगत निरीक्षण गराउने र त्यसपछि एक दुई दिनभित्रै मर्मत सम्भारको काम अघि बढाउने प्रतिबद्धता जनाएको साहाले उल्लेख गरेका छन् । सडकमा ठाउँठाउँमा ठला खाल्डा परेका कारण विशेषगरी मोटरसाइकल, साइकल तथा साना सवारीसाधन चलाउन समस्या हुँदै आएको स्थानीयको भनाइ छ। रातिको समयमा खाल्डा देख्न नसक्दा दुर्घटनाको जोखिम झनै बढ्ने गरेको उनीहरू बताउँछन्। बंकुलमा हिमालीबास-कोल्बी सडक यस क्षेत्रका बासिन्दाका लागि आवतजावतको महत्त्त्वपूर्ण मार्ग हो। दैनिक कामकाज, व्यापार, शिक्षालगायत विभिन्न प्रयोजनका लागि यही सडक प्रयोग गर्ने स्थानीय सडकको अवस्था लामो समयसम्म सुधार हुन नसकेको भन्दै असन्तुष्ट छन्। स्थानीयका अनुसार वर्षायाममा सडकको अवस्था थप विग्रिएपछि खाल्डामा पानी जम्ने गरेको छ। पानी जमेको अवस्थामा खाल्डाको गहिराइ अनुमान गर्न नसकिने भएकाले सवारी चालकलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ। सडक मर्मतका लागि पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आए पनि प्रभावकारी रूपमा काम हुन नसकेको उनीहरूको गुनासो छ।स्थानीयको गुनासोपछि सडक मर्मतका लागि सम्बन्धित
कार्यालयले स्थलगत निरीक्षण गरी तत्काल काम अघि बढाउने आश्वासन दिएपछि भने केही राहतको अपेक्षा गरिएको छ। तर, यसअघि पनि सडकको अवस्थाबारे पटकपटक ध्यानाकर्षण गराइएको भन्दै स्थानीयले आश्वासनमा मात्रै सीमित नरही तोकिएको समयमै काम सुरु गर्न आग्रह गरेका छन्। स्थानीय भद्रभलादमी, बुद्धिजीवी तथा पत्रकारले सडक मर्मतका लागि चासो देखाएको भन्दै साहाले सामाजिक सञ्जालमार्फत उनीहरूको पहलको प्रशंसा गरेका छन्। उनले सडकको अवस्थाका कारण सर्वसाधारणले भोग्दै आएको समस्या समाधानका लागि सम्बन्धित निकायले दिएको प्रतिबद्धता कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन्। अब साइट निरीक्षणपछि सडकको वास्तविक अवस्था मूल्यांकन गरी मर्मतको काम अघि बढ्ने बताइएको छ। लामो समयदेखि जीर्ण रहेको पथराबुधराम खण्डमा तत्काल मर्मत भए सर्वसाधारणको आवतजावत सहज हुनुका साथै सम्भावित दुर्घटनाको जोखिमसमेत घट्ने स्थानीयको अपेक्षा छ।