रौतहट ,१५ फागुन //
रौतहट जिल्लाको गढीमाई नगरपालिका–१ समनपुरमा नेकपा एमाले रौतहटको आयोजनामा भव्य रूपमा होली मिलन समारोह तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा हिन्दुधर्मावलम्बीहरूको महान पर्व होलीको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रमले चुनावी माहोललाई थप तातो बनाएको छ।
कार्यक्रम श्री शंकर गुदर माध्यमिक विद्यालय, समनपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र कुमार साह (दिपु)को सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी रौतहट क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामजी साह, युवा नेता कलिमुल्लाह, स्थानीय पार्टी नेता–कार्यकर्ता तथा सर्वसाधारण मतदाताको उल्लेखनीय उपस्थिति रहेको थियो।
विगतका कमजोरी सच्याउँदै विकासको यात्रामा लाग्न आग्रह
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उद्धव रेग्मीले विगतमा भएका कमी–कमजोरीलाई बिर्सेर अब देश र क्षेत्रको विकासका लागि एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामजी साहलाई सूर्य छाप चिन्हमा मतदान गरी विजयी गराउन मतदातासँग आग्रह गर्नुभयो।
“देशको विकास, समृद्धि र स्थायित्वका लागि सूर्य छापमा मतदान आवश्यक छ,” रेग्मीले भन्नुभयो, “यस क्षेत्रको विकास र निकासका लागि एमालेको जित अपरिहार्य छ।” समय अभावका कारण कार्यक्रम छोटो राखिएको उल्लेख गर्दै उहाँले उपस्थित सबैलाई होली पर्वको शुभकामना व्यक्त गर्नुभयो।
युवाहरूलाई एकजुट हुन आह्वान
कार्यक्रममा बोल्दै युवा नेता कलिमुल्लाहले पनि सम्पूर्ण उपस्थितलाई होलीको शुभकामना दिँदै आगामी निर्वाचनमा सूर्य छापमा मतदान गरी भारी बहुमतले एमालेका उम्मेदवारलाई विजयी गराउन अपिल गर्नुभयो। उहाँले देशको राष्ट्रियता, लोकतन्त्र र विकासको संरक्षण गर्न सक्ने एकमात्र पार्टी एमाले भएको दाबी गर्दै सबैलाई एकजुट भएर समर्थन गर्न आग्रह गर्नुभयो।

नयाँ सोच र विकासको प्रतिबद्धता
त्यसैगरी रौतहट क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामजी साहले आफू नयाँ अनुहार भए पनि विकासप्रति स्पष्ट दृष्टिकोण र योजनासहित अघि बढिरहेको बताउनुभयो। उहाँले मतदातासँग एक पटक विश्वास गरेर मतदान गर्न अनुरोध गर्दै भन्नुभयो, “विगतका नेताहरूलाई पटक–पटक अवसर दिनुभयो, अब एक पटक मलाई पनि अवसर दिनुहोस्। यदि मैले अपेक्षाअनुसार काम गर्न सकिनँ भने अर्को पटक भोट माग्न आउने छैन।”
उहाँले क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि, सडक तथा रोजगारीका क्षेत्रमा ठोस योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै होली पर्व नजिकिँदै गएको सन्दर्भमा होली मिलन समारोहमार्फत घरदैलोमा पुगेर शुभकामना आदान–प्रदान गर्न पाउँदा खुशी लागेको बताउनुभयो।

उत्साहपूर्ण वातावरणमा सम्पन्न
कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। सहभागीहरूले एकअर्कालाई अबीर लगाउँदै होलीको शुभकामना आदान–प्रदान गरेका थिए। घरदैलो कार्यक्रमअन्तर्गत स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी आगामी निर्वाचनका एजेन्डाबारे जानकारी गराइएको थियो।
यस कार्यक्रमसँगै समनपुर क्षेत्रको चुनावी गतिविधि तीव्र बनेको छ भने होली पर्वको रौनकसँगै राजनीतिक चहलपहल पनि बढेको स्थानीयवासीले बताएका छन्।


