काठमान्डौ,३ बैशाख//
रूविकुमारी ठाकुरले दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले दाइजो लिनु–दिनुमात्र नभई दाइजोमा आधारित विवाह स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु समेत कानुनी रूपमा दण्डनीय भएको उल्लेख गरेकी छन्।
उनले लेखेकी छन्, “दाइजो लिनु र दिनुमात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो।”
उपसभामुख ठाकुरले सामाजिक परिवर्तनका लागि व्यक्तिगत तहबाटै सुरुवात गर्नुपर्नेमा जोड दिएकी छन्। “यदि हामी साँच्चिकै समाज परिवर्तन र विकास चाहन्छौं भने परिवर्तनको सुरुवात आफैंबाट गर्नुपर्छ,” उनको भनाइ छ।
उनका अनुसार आफूले प्राप्त गर्ने अधिकांश विवाह निमन्त्रणामा ‘दहेजमुक्त विवाह’ भन्ने स्पष्ट उल्लेख नभएको पाइएको छ। दाइजो लेनदेन हुने विवाहमा सहभागी हुन नसक्ने बताउँदै उनले दहेजमुक्त, समानतामूलक र सुसंस्कृत विवाह अभ्यासलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गरेकी छन्।