काठमान्डौ,३ बैशाख//
संघीय संसद् सचिवालयका अनुसार आज संसदीय समितिका सभापतिहरूका लागि मनोनयन दर्ता हुँदैछ। मनोनयन दर्ता दिउँसो १ बजेदेखि ४ बजेसम्म सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुने जनाएको छ।
मनोनयन दर्ता सम्पन्न भएपछि भोलि दिउँसो साढे ४ बजे उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गरिनेछ।
संघीय संसद्अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन्, जसमध्ये प्रतिनिधिसभा अन्तर्गत १० वटा, राष्ट्रिय सभा अन्तर्गत ४ वटा तथा दुई वटा संयुक्त समिति रहेका छन्। राष्ट्रिय सभा अन्तर्गतका समितिका सभापतिहरूको निर्वाचन यसअघि नै सम्पन्न भइसकेको छ भने प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको निर्वाचन हुन बाँकी छ।
गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू चयन गरिसकेको छ भने सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार सभापति चयनका लागि निर्वाचन मिति तय गरेका थिए।
नियमअनुसार सम्बन्धित समितिका कुनै सदस्यले प्रस्तावक भई अर्को सदस्यको समर्थनमा सभापतिका लागि उम्मेदवारी दर्ता गर्न सक्ने व्यवस्था रहेको छ।