बारा ,३ बैशाख //
सशस्त्र प्रहरी बल नेपालले बारा जिल्लामा पछिल्लो साढे दुई महिनामा एक करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।
नम्बर १२ गण हे.क्वा. बाराका गणपति विशाल सिलवालका अनुसार माघ १८ गतेदेखि कार्यभार सम्हालेयता १ करोड १४ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ।
पछिल्लो कारबाही अन्तर्गत सीमा सुरक्षा गुल्म मटिअर्वाबाट नारायण पौडेलको कमाण्डमा खटिएको टोलीले वैशाख १ गते करिब १३ लाख रुपैयाँ बराबरका कपडा, चकलेट र मोबाइलका पार्टपुर्जाहरू बरामद गरेको छ।
यसैगरी बिओपी पिपरपातीबाट खटिएको टोलीले वैशाख २ गते बिआर ०५ बी २५८४ नम्बरको मोटरसाइकलसहित १ लाख ५७ हजार रुपैयाँ बराबरको मदिरा नियन्त्रणमा लिएको छ। त्यस्तै, बिओपी बरैनियाबाट खटिएको टोलीले मोटरसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरेको अवैध कपडा समेत बरामद गरेको छ।
गणपति सिलवालका अनुसार सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि कडाइ गरिएको छ र सबै युनिटहरूलाई ‘शून्य सहनशीलता’ नीति अपनाउन निर्देशन दिइएको छ।
सीमा नाकामा हुने चोरी–पैठारी रोक्न वरिष्ठ अधिकृतको नेतृत्वमा दुईवटा विशेष टोली २४सै घण्टा आकस्मिक जाँचका लागि परिचालन गरिएको पनि उनले जानकारी दिएका छन्।