नेपाल रेडक्रस सोसाईटी रौतहटले जाजरकोट र रुकुमका भूकम्प पीडितहरुका लागि आर्थिक सहयोग गरेको छ । मधेस प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी रकम रौतहट जिल्लाले भूकम्पपीडितलाई सहयोग गरेको हो । नेपाल रेडक्रस रौतहट शाखाका सभापति राजकिशोर प्रसाद यादवले रेडक्रसको मधेस प्रदेश शाखालाई भूकम्प पीडित सहयोगार्थ एक लाख ११ हजार १०१ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ । यो सहयोग रकम प्रदेश बैठकले यथाशीघ्र निर्णय गरेर केन्द्रमा पठाइने जनाईएको छ । आफ्नै पहलमा रकम संकलन गरी सहयोग हस्तान्तरण गरिएको शाखाका मन्त्री धर्मेन्द्रकुमार सिंहले जानकारी गराउनुभयो । सो अवसरमा मधेस प्रदेशका कार्यालय अधिकृत उमेश मिश्र तथा पर्सा शाखाका उपमन्त्री सबिर अहमदसमेतको सहभागिता थियो । रौतहट शाखाले प्रदान गरेको सहयोग राशिको चेक बुझ्दै मधेस प्रदेश शाखा सदस्य राम अधार राय यादवले प्रदेशको आठ जिल्लाका रेडक्रसले प्रदेश शाखालाई रकम हस्तान्तरण गरिसकेको बताउनुभयो । विपदमा परेको नागरिकलाई रेडक्रस सोसाईटीले सहयोग गर्दै आएको छ । रेडक्रसको मुख्य लक्ष्य भनेको मानव उद्धार भएको रौतहट शाखाका सभापति यादवले बताउनुभयो । त्यसैले रेडक्रसले मानवीय सेवासँग विभिन्न क्षेत्रमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो । मानव वा प्रकृतिबाट घटेका हरेक प्रकारको विपत्तिले मानिसको जीवनमा भयावह क्षति पु¥याउछ र त्यस्तो अवस्थाबाट पीडितलाई उद्धार गरी जीवन रक्षा गर्नु रेडक्रसको दायित्व भएको उहाँले प्रष्ट पार्नुभयो । वपद्को समयमा राहत वितरणको कार्य तथा अन्य समाजिक कार्यमा समेत सहयोग गर्दै आएको नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाले जनाएको छ । सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना भएको हो ।