सर्लाहीको मलगंवामा यातायात व्यवस्था कार्यालय स्थापना भएसंगै अव सवारी चालक अनुमति पत्र (लाईसेन्स) लिन सकिने भएको छ । जिल्ला समन्वय समिति (तत्कालीन जिविस) को भवनमा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको हो । कार्यालयबाट सवारी चालक अनुमति पत्र जारी तथा नवीकरण, सवारी किताब दर्ता तथा नवीकरण, रुट परमिट लगायतका सेवा प्रदान गरिने भएको छ । यातायात व्यवस्था कार्यालय मलगंवाका प्रमुख राकेश यादवका अनुसार अब यातायात सम्बन्धी काम लिएर बर्दिबास, जनकपुर, वीरगञ्जलगायत ठाउँमा जानुपर्ने बाध्यता अन्त्य भएको छ । मलङ्गवाको कार्यालय प्रदेश स्तरको भएपनि यसले देशभरका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने कार्यालय प्रमुख यादवको भनाइ छ । उहाँका अनुसार आइतबार औपचारिक रूपमा कार्यालय स्थापना गरिए पनि सेवा प्रवाह सुरु गर्न केही दिन लाग्ने छ । आफू तत्कालै काठमाडौँ पुगेर यातायात व्यवस्था विभागबाट युजर तथा पासपोर्ट लिएर आउने र सम्भव भएसम्म यसै हप्ताभित्र सेवा प्रवाह सुरु गर्ने यादवले बताउनुभयो । उहाँका अनुसार कार्यालयको तत्काल आफ्नै सरकारी ट्रायल सेन्टर नभएकाले जिल्लाभर कहिँकतै निजी ट्रायल सेन्टरसँग समन्वय गरिने छ । जग्गा प्राप्त भएपछि आफ्नै ट्रायल सेन्टर निर्माण गर्न बजेट माग गरिने कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो । मधेस प्रदेशका आठ जिल्लामध्ये सर्लाहीमा सातौँ कार्यालयको रूपमा यातायात व्यवस्था कार्यालय स्थापना भएको हो । कार्यालय खुल्न बाँकी रहेको बारा सदरमुकाम कलैयामा पनि केही समयभित्रै कार्यालय स्थापना गर्ने तयारी रहेको श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशले जनाएको छ ।