रौतहटको मौलापुर नगरपालिकाले असहायसँग मेयर कार्यक्रम अन्तर्गत बिपन्न परिवारलाई आर्थिक सहयोग गर्दै आएको छ । उमेर पुगेका छोरीको विवाहका लागि अभिभावकलाई आर्थिक भार हुने भएकाले नगरपालिकाले पनि सहयोग गर्ने गरेको हो । केही दिनअघि मौलापुर नगरपालिका –६ पथराका विजय गिरीको छोरीको विवाहमा सहभागी भई मेयर रिना कुमारी साहले विवाह मण्डपमै सहयोग रकम ३० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ । उहाँले नगरका सम्पूर्ण विपन्न परिवारको २० वर्ष उमेर पुगेका छोरीको विवाहमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । विवाह भन्दा एक हफ्ता अगाडि विवाहको कार्ड सहितको फाइल पेस गर्न उहाँले आग्रह पनि गर्नुभयो । नियम पूरा गरेका फाइलका आधारमा विवाहका दिन बेहुलीको घरमै अनुदान रकमको चेक उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । नगरपालिकाले ल्याएको यस योजना वा अभियान लोकप्रिय बनेको छ । छोरीको विवाहमा खर्च वढी हुने भएकाले पालिकाले उपल्वध गराएको रकम राहत मात्र हुने मौलापुर नगरपालिकाले जनाएको छ । मौलापुर नगरपालिकामा छोरीको बिहेका लागि आर्थिक वर्ष २०७९÷०८० मा ५० परिवारलाई आर्थिक सहयोग गरेको हो । सहायसँग मेयर कार्यक्रमअन्तर्गत उतm रकम बितरण गरिएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताउनुभयो । छोरीको विवाहमा सहयोग स्वरुप जनही ३० हजारका दरले ५० जना परिवारको खातामा रकम पठाई सकेको उहाँले जानकारी दिनुभयो । यो कार्यक्रम पालिकामा लोकप्रिय भएकाले निरन्तरता पाएको उहाँको भनाई छ । मौलापुर नगरपालिकाका मेयर साहको योजना र सक्रियताले नगरबासीले साथ दिएको पाईन्छ । गत असोज २९ गते निर्वाचन आयोगको निर्णय एवमं ३० गतेको सूचनाबाट मेयर पद रिक्त भएको सूचना निकालेको थियो । निर्वाचन आयोगको सो निर्णयविरुद्ध मेयर साहले सर्वोच्च अदालत पुग्नुभएको थियो । गत कार्तिक २४ गते सर्वोच्च अदालतको फैसलापछि साहले पुनः कार्यभार सम्हाल्नुभएको हो । वि.स २०७९ सालको स्थानीय निर्वाचनमा दोस्रो पटक मौलापुर नगरपालिकाको मेयर पदमा साह निर्वाचित हुनुभएको थियो ।