अवैध रुपमा भारतबाट ल्याईएको पाँच लाख भन्दा वढी मुल्यका सामन रौतहट प्रहरीले बरामद गरेको छ । जिल्लाको विभिन्न स्थानहरुमा अबैध रुपमा भारतबाट सामानहरु चोरी पैठारी गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो । माघ १० देखि १४ गते सम्म सीमापारी भारतबाट चोरी पैठारी तथा राजस्व छलेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले रु. ५ लाख ३४ हजार मूल्य बराबरको सामन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी एलिजा गिरीका अनुसार किराना सामान, लत्ताकपडा र मोवाइल गरेर १ लाख ३४ हजार ९५० रुपैयाको सामन बरामद भएको हो । चार थान भारतीय नम्वरका मोटरसाईकल समेत गरी पाँच लाख ३४ हजार ९५० मूल्य बराबरको बरामद गरिएको उहाँले जानकारी दिनुभयो । बरामद गरीएका सामनहरु आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको उहाँले बताउनुभयो । पछिल्लो समयमा भारतसंग सिमा जोडिएको रौतहटमा विभिन्न नाकाबाट अवैध रुपमा विभिन्न सामनहरु तस्करी हुने गरेको छ । भारतीय बजारको विभिन्न सामाग्री बिना भन्सार रौतहटको चन्द्रपुर, कटहरिया, गरुडा पुग्ने गरेको केही व्यापारीले बताएका छन् । विभिन्न नाकाबाट तस्करीको माध्यमबाट नेपालमा सामन भित्रन थालेपछि सरकारको राजस्वमा समेत प्रभावित हुदै आएकोे छ । लक्ष्मीपुर बेलबिछवा, महादेव पट्टी, टिकुलिया बाँध, लालबकैया, बन्जरहा, औरैया, मठिया, डुमरिया परोहा, राजपुर, बंकुल र नरकटिया भएर तस्करहरूले विभिन्न सामाग्री तस्कर गर्ने गरेको पाईन्छ । लताकपडा, श्रृंगारका सामन, ईलोक्ट्रोनिक्स उपकरण र खद्यान्न लगायतका सामनहरुको तस्करी समेत बढेपछि प्रहरीले सिमावर्ती क्षेत्रमा निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।