रौतहट प्रहरीले मौलापुरबाट लागु औषध नाइट्राभेट सहित एक यूवकलाई पक्राउ गरेको छ । मौलापुर नगरपालिका फतुवा विजयपुर सडक खण्डबाट लागु औषध सहित २८ बर्षिय संजयकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी एलिजा गिरीका अनुसार मौलापुर नगरपालिका वडा नं. ५ स्थित सडकखण्डबाट लागुऔषध सहित दासलाई पक्राउ गरिएको हो । ना १३प ४१९२ नम्वरको मोटरसाइकललाई रोकेर खानतलासी गर्दा फतुवा विजयपुर नगरपालिका ८ विजयपुर घर भएका दासको साथबाट लागु औषध नाइट्राभेट फेला परेको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका दासको शरिरबाट लागुऔषध नाइट्राभेट २० पत्तामा २८९ पिस बरामद भएको उहाँले बताउनुभयो । लागुऔषध सहित नियन्त्रणमा लिइएका दासलाई म्याद थप गरी आवश्यक कारवाही प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पछिल्लो समयमा लागु औषध कारोवार वा सेवनकर्ता बढेको भन्दै जिल्ला प्रहरी कार्यालयले सिमावर्ती क्षेत्रमा निगरानी बढाएको छ । नेपाली प्रयोगकर्ताले भारतीय बजारबाट सजिलै यस्ता औषधि किनेर ल्याउने भएकाले दुव्र्यसनीमा यूवाहरु नै बढी संग्लन रहने गरेको पाईन्छ । यस अवधीमा लागूऔषध सम्बन्धी कसुरमा ४८ जनालाई पक्राउ गरिएकोमा उनीहरुको साथबाट ४ सय ८७ केजी ४ सय ग्राम गाँजा, १५ सय ७२ पिस डाइजेपाम इन्जेक्सन, १५ सय ७९ पिस फेनारगन इन्जेक्सन र १५ सय ८० पिस ब्रुफिन ईन्जेक्सन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।