नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा जिल्ला अदालत रौतहले साक्षी झिकाउन आदेश दिएको छ । न्यायाधीश मातृका प्रसाद आचार्यको इजलास आलम विरुद्धको मुद्दामा प्रतिवादीको तर्फबाट अधिवक्ता लालबाबु राय, महम्द साबिर हुसेन, मजरुल हक, अफताब आलमले बहस गर्नुभएको थियो । त्यस्तै वादिको तर्फबाट भने अधिवक्ता पुष्प पौडेल र जिल्ला न्यायधिवक्ता बद्री कुमार कार्किले बहस गर्नुभएको हो । आईतबार दुवै तर्फको वहस सुनेपछि न्यायाधीश आचार्यको इजलासले आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको जिल्ला अदालत रौतहटले जनाएको छ । अब प्रमाण बुझेपछि मात्रै यस मुद्दाको अर्को पेसी तोकिने छ । यस अघि जिल्ला अदालत गौरमा पुष २९ गते आइतबार अन्तिम सुनुवाइका लागि पेशी तोकिएको भएपनि कुनै पनि न्यायाधीशले गोला नतानिएपछि स्थगितमा परेको थियो । ०६४ चैत २७ गते राजपुर फरदहवा गाउँमा बम बिस्फोटकको घटनामा प्रहरीले मोहम्मद अफताब आलम, शेख सेराज भन्ने शेख सराज, शेख फजलेहक, शेख भदई, मोहम्मद महताब आलम, सगिर आलम, बद्री सहनी, गौरीशंकर साह, मुक्ति साह, मोहद मोबिन आलम र शेख जुमइन भन्ने शेख मलकारविरुद्ध मुद्दा चलाएको थियो । राजपुरमा भएको बम विष्फोटका घाइतेलाई इँटा भट्टामा जलाएर मारेको अभियोग आलम माथि छ । सो घटनामा प्रहरीले २०७६ सालमा पुनः अनुसन्धान गरेको थियो। उनीमाथि १८ कात्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा मुद्दा दायर भएको थियो। यो मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश विरुद्ध आलमले उच्च अदालत वीरगञ्जमा पुनरावलोकनका लागि निवेदन दिएको थियो । उच्च अदालतले २४ माघ २०७६ मा जिल्लाको आदेश सदर गरेपछि आलम सर्वोच्च अदालत पुगेको । सर्वोच्च अदालतले गत २३ वैशाखमा धरौटीमा रिहा हुनुपर्ने माग अस्वीकार गरेको थियो ।