राष्ट्रिय महिला फुटबल टिममा सहभागी भएका महिला खेलाडीलाई चन्द्रपुर नगरपालिकाले सम्मान गर्ने भएको छ । यही फेब्रअरी १९ देखि साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिप २०२४ का लागि यहाँबाट प्रतिनिधित्व गरेका खेलाडीलाई नगरपालिकाले सम्मान गर्न लागेको हो । चन्द्रपुर नगरपालिकाले अनिता के.सी, अन्जना राना मगर, निशा ठोकर , रश्मी कुमारी घिसिङ्ग , समिक्षा घिमिरे, सविता राना मगर , सविना चौधरी वाफ वुमन्स च्याम्पियनसिप प्रतियोगिता सहभागी जनाएका हुन् । वाफ वुमन्स च्याम्पियनसिप प्रतियोगितामा यहाँका चेलीले खेलेको खेलको प्रशंसा गर्दै चन्द्रपुर नगरपालिकाले सम्मान गर्ने तयारी थालेको हो । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले यहाँका महिला चेलीले खेलेको खेल उत्कृष्ट भएको भन्दै खेलाडीलाई सम्मानको तयारी गरिएको उहाँले जानकारी दिनुभयो । अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरमा यहाँका चेलीले खेलेको खेलको उच्च मुल्याङ्गकन गर्दै आएको र पछिल्लो समय वाफ वुमन्स च्याम्पियनसिप खेलेको खेल प्रंशसा योग्य रहेको उहाँको भनाई छ । वुमन्स च्याम्पियनसिपमा चन्द्रपुर नगरपालिकाबाट मात्र सात जना महिला खेलाडीको सहभागीता रहेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले सातै जना खेलाडीलाई सम्मान गर्ने तयारी थालेको उहाँले बताउनुभयो । यहाँका महिला फुटवल खेलाडीहरु विभागिय टिम हुँदै राष्ट्रिय महिला फुटबल टिममा पर्न सफल भएका छन् । रौतहट फुटवल संघका अध्यक्ष भगवान दर्लामीका अनुसार यहाँका महिला खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका छन् । महिला फुटवलको विकासका लागि स्थानिय, प्रदेश तथा संघिय सरकारले ध्यान दिनु पर्ने उहाँले उल्लेख गर्नुभयो । उहाँले यसको विकासका लागि एक समिति गठन गरेर अघि बढ्न आवश्यक रहेको औल्याउनुभयो । यहाँका अधिंकाश चेलीले अन्तराष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गरेर धेरै खेल खेलिसकेकाले अव महिला खेलाडीलाई प्रोत्साहित गर्ने किसिमका निति तथा कार्यक्रम ल्याउनु पर्नेमा रौतहट फुटवल संघका महासचिव मधुसुदन धितालले बताउनुभयो । चन्द्रपुर नगरपालिकाबाट अधिंकाश महिला खेलाडी विभिन्न क्लव वा विभागीय टिमबाट खेल्दै आएका छन् । अहिले चन्द्रपुर नगरपालिका वडा नं. ६ स्थित शेर वहादुर दर्लामी खेल मैदानमा नियमित प्रशिक्षण हुँदै आएको छ । महिला फुटवलका लागि पालिकाले आवश्यक सहयोग गर्दै आएको चन्द्रपुर नगरपालिकाले जनाएको छ । वाफ वुमन्स च्याम्पियनसिप २०२४ का लागि यहाँको सात खेलाडीको प्रदर्शनले नगरबासी नै गौरवान्ति भएकाले सम्मानको कार्यक्रम तय गरिएको नगर प्रमुख काफ्लेले बताउनुभयो । पहिलो पटक वाफ वुमन्स च्याम्पियनसिप खेलेको नेपाली टोली फाइनलमा जोर्डनसँग पेनाल्टी सुट आउटमा ५–३ ले पराजित हुँदै उपविजेता बनेको थियो । प्रतिस्पर्धात्मक खेलको निर्धारित २–२ को बराबरीमा सकिएको थियो । तर पेनाल्टी सुट आउटमा नेपाल अभागी बन्यो । आठ पटक प्रतियोगिता खेल्दा जोर्डनले भने छैटौं पटक उपाधि जित्यो । नेपाली महिला टोली अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पराजित भएको यो ११औं पटक हो । वाफ वुमन्स च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोली शुक्रबार राती स्वदेश फर्किएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले टोलीका खेलाडीहरुलाई ५१–५१ हजार प्रदान गर्ने घोषणा गरेको छ ।