रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले आर्थिक अभावका कारण उपचारमा समस्या भएको बालक र अभिभावकसंग भेट गर्नुभएको छ । चन्द्रपुर नगरपालिका वडा नं. १ पौराई बस्ने राम वहादुर पहरीको १३ बर्षिय छोरा सुशिल पहरीको शरीरको देव्रे भाग नै नचल्ने अवस्थामा रहेको छ । विभिन्न अस्पतालमा बालकको उपचार गराउँदा पनि निको नभएको र उपचारमा ठुलो रकम खर्चिएपछि तनावमा रहेका बालक र अभिभावकसंग आईतबार विहान मेयर काफ्लेले भेट गर्नुभएको हो । जंगलमा काठ लोड अनलोड वा ईट्टा भट्टामा काम गर्दै परिवारको जिविकोपार्जन गर्दै आएकोमा अहिले त्यो पनि समस्या भएको बालकका अभिभावक राम वहादुर पहरी गुनासो गर्नुभयो । निकै कष्टपुर्ण जिवनयापन गर्दै आएको गुनासो गरेपछि मेयर काफ्लेले खाद्यन्न सहित आवश्यक सहयोग गर्नुभएको हो । पहरी परिवारको समस्या वा गुनासो आफु समक्ष आएपछि तत्काल सहयोगका लागि यहाँ आएको बताउनुभयो । बालक र अभिभावकसंग भेट गरेर विस्तृतमा वुझेको र यसलाई आफुले गम्भिर पूर्वक लिएको उहाँको भनाई छ । नगरपालिकाले आवश्यक सहयोग गर्ने उल्लेख गर्दै उहाँले कुनै किसिमको समस्या भएमा आफु समक्ष राख्न समेत पहरी परिवारसंग अनुरोध गर्नुभयो । नगरपालिकाका नगर प्रमुख काफ्ले आफुहरुको समस्या वुझ्नका लागि यहाँसम्म आएकोमा पहरी परिवार खुसी भएका छन् । खाद्यन्न सहितको सामग्री लिएर मेयरले भेट्न आउनु भएको र सहयोग गर्ने वचन दिनुभएको उनीहरुले बताएका छन् । चन्द्रपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष वलराम राउतले पहरी परिवारलाई वडा कार्यालयले पनि सहयोग गर्ने वचन दिनुभयो । बालक पहरीको उपचारका लागि विभिन्न संघ संस्थाले सहयोग गर्नु पर्ने उहाँको धारणा छ । नेपाली काग्रेसका यूवा नेता श्यामहरी चौलागाई तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो । जनता प्रथामिक विद्यालय पौराईमा कक्षा २ मा पढ्दै गरेका सुशिलको एकाएक शरीरको एक भाग नचल्ने भएको थियो । बालक पहरीको उपचारका लागि विरगंज, कान्ति वाल अस्पताल काठमाण्डौँ र विर अस्पतालसम्म पहरी परिवार पुगेको उल्लेख गरेका छन् । आर्थिक अभावका कारण उपचार हुन नसकेकाले सहयोग गरीदिन उनीहरुले विभिन्न निकायसंग आग्रह गरेका छन् ।