चन्द्रपुर,१२ चैत / चन्द्रपुर नगरपालिकाले चन्द्रपुर नगरपालिकामा सञ्चालनमा रहेका निजी अस्पतालहरुको अनुगमन सुरु गरेको छ । नगर प्रमुख सञ्जय कुमार काफ्ले सहितको टोलीले पहिलो चरणमा चन्द्रपुर ४ मा सञ्चालनमा रहेका सिभिल ह्युमन हस्पिटल प्रा.लि. तथा हाईवे अस्पतालको अनुगमन गरेको थियो । मधेश प्रदेश सरकारका मुख्यमंन्त्रि सतिश सिहले गएको फाल्गुण १८ गते नीजि अस्पतालको अनुगमन गर्ने क्रममा मापदण्ड बिपरित संचालनमा रहेको पाईएपछि चन्द्रपुर नगरक्षेत्रका १० वटा अस्पताल बन्द गर्न निर्देशन दिएका अस्पतालको अनुगमन गरिएको हो । बन्द भएका नीजि अस्पतालले मापदण्ड पुरा गरेको भन्दै चन्द्रपुर नगरपालिका संग स्थायी अनुमति पत्र माग गरेपछि अनुगमन थालिएको हो । अनुगमनको लागि चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्ले, वडा नम्बर ४ का वडा अध्यक्ष रवि राना मगर, चन्द्रनिगाहपुर अस्पतालका मेडिकल सुपरिेन्डेन्ट डा. अभिनन्दन श्रीवास्तव, स्वास्थ्य शाखा प्रमुख राजेश ठाकुर, मातृका चालिसे, ल्याब टेक्निसियन गजेन्द्र चौधरी लगायतका टोलीले तीन दिन देखि अनुगमन लाई तिब्रता दिएका छन । टोलीले अस्पताल संचालनका लागि मापदण्ड अन्तर्गत आवश्यक पुर्वाधार तथा स्वास्थ्य सामाग्रीको अनुगमन गरेका हुन । स्थानीय तहलाई १५ शैैयासम्मको अस्पताल संचालन गर्न दिने कानुनी व्यवस्था भए अनुरुप दर्ताका लागि अनुगमन गरेको हो ।
यी अस्पतालहरुले अस्पताल संचालनको मापदण्ड पुगेको भनि नगरपालिकामा जानकारी गराएकोले सोही अुनरुप अनुगमन गरिएको नगर प्रमुख काफ्लेले बताउनुभयो । उहाँले स्वास्थ्य सेवा जनताको जीवनसँग प्रत्यक्ष जोडिएकाले यसलाई मापदण्ड पुरा गरेर सञ्चालन गर्नुपर्ने भएकाले अस्पतालहरुलाई बन्द गर्न भन्दा मापदण्ड अनुसार व्यवस्थित गर्न चन्द्रपुर नगरपालिकाले प्राथमिकतामा राखेर कामहरु गर्दै आइरहेको दावी गर्नुभयो ।
सिभिल ह्युमन हस्पिटल प्रा.लि. का सञ्चालक राजन कुमार साहले आफुहरुले राज्यका तोकेका सबै मापदण्ड पुरा गरिसकेकाले स्थानिय सरकारले आफ्नो अधिकारको प्रयोग गरेर आफुहरुलाई अनुमति दिए उच्च मनोवलका साथ सञ्चालन गर्न सम्भव हुने आश व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय चन्द्रपुर नगरपालिका स्वास्थ्यको हवको रुपमा विकसित हुँदै गइरहेकोमा केही दिन अघि चलाइएका दुष्प्रचारहरुले यसलाई धमिल्याउने काम गरेकाले नगरपालिकाले सबैलाई व्यवस्थित गरेर सञ्चालनको अनुमति दिनुपर्ने माग गर्नुभयो ।

हाईवे अस्पताल चन्द्रनिगाहपुरका डा. नविन कुमार सिंहले आफ्नै गाउँ ठाउँमा सहज र सुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापना गरिएका अस्पतालहरुलाई स्थानिय सरकारले संरक्षण गर्दै अभिभावकत्व लिनुपर्ने बताउनुभयो । आफुहरु राज्यले तोकेका सबै मापदण्ड र कानुनी पाटाहरु पुरा गर्न तयार रहेको जनाउँदै उहाँले निजी अस्पतालहरु स्थानिय सरकारसँग सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

अनुगमन पश्चात अब चाँडैनै यी दुइ अस्पतालहरुले चन्द्रपुर नगरपालिकाबाट स्थायी अनुमती पाउने अस्पताल सञ्चालकहरुको भनाइ छ ।