हाईवे न्युज सम्वाददाता
बैशाख ३१ ।
नेपाली कांग्रेसको गत चैतमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले प्रदेश संसदीय दल, प्रदेश सरकार र स्थानीय तहमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउने संयोजनको जिम्मा उपसभापति विश्वप्रकाश शर्मालाई दियो ।
‘प्रदेश संसदीय दल, प्रदेश सरकार र स्थानीय तहमा पार्टीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको भूमिकाको समीक्षा, समन्वय र थप प्रभावकारिताका लागि आवश्यक संयोजनको जिम्मेवारी उपसभापति विश्वप्रकाश शर्मालाई प्रदान गर्ने निर्णय गर्दछ,’ कांग्रेसले गरेको निर्णयमा उल्लेख छ ।
बैठकले निर्वाचनमा पार्टीले बेहोर्नुपरेको पराजयको मुख्य कारण विगतमा गरिएको ‘गठबन्धन संस्कृति’ रहेको निष्कर्ष निकालेको थियो । ‘संसद् जोगाउन बनेको गठबन्धनलाई पछि चुनाव जित्न प्रयोग गरियो, जसका कारण पार्टीका इमानदार कार्यकर्ता
र आम जनता दुवैमा चरम असन्तुष्टि पैदा भयो,’ उपसभापति शर्माले प्रस्तुत गरेको समीक्षामा भनिएको थियो । कांग्रेसले एमालेसँगको सत्ता गठबन्धनलाई पनि फागुन २१ को पराजयको एउटा प्रमुख कडी मानेको छ । ‘कांग्रेस–एमालेको गठबन्धन सरकार हाम्रो परिपक्व विश्लेषण र दुरदर्शी सोचको उपज थिएन,
पार्टीको महामन्त्री तहमा समेत संवाद नगरी अपारदर्शी ढंगले रातारात भएको सम्झौता थियो,’ कांग्रेस बैठकमा प्रस्तुत प्रस्तावमा उल्लेख थियो, ‘संसदमा रहेका मुख्य दुई दलमध्ये एकले नागरिक असन्तुष्टिको रचनात्मक प्रतिनिधित्व गरेर संसदमा प्रतिपक्षी कित्ता सम्हाल्नै पर्दथ्यो ।’
सोही प्रस्तावमाथि छलफल गर्दै कांग्रेसले गठबन्धन सरकारको कार्यसम्पादनमा जन अपेक्षाविपरीत परिणाम देखिनु नै पराजयको कारण रहेको ठहर ग¥यो । गठबन्धन नै अलोकप्रियताको मुख्य
कारण भनेर किटान गरेको कांग्रेसले डेढ महिनामै उपभापति विश्वप्रकाश शर्मासहितको टोली प्रदेशको गठबन्धन कायम गराउन भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको ढोका ढक्ढक्याउन पुगेपछि विशेष महाधिवेशन इतर पक्षले आलोचना गर्न सुरु गरेका छन् ।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर राणा मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास भक्तपुरको गुण्डु पुगेका थिए । विगतमा भएको सहमति अनुसार आलोपालो मुख्यमन्त्री बन्ने विषयमा दुवै दलका नेताहरूले छलफल गरेको स्रोतको दाबी छ ।
अहिले नै मुख्यमन्त्री परिवर्तन गर्ने कि बजेटपछि भन्ने विषयमा कांग्रेस र एमाले निर्णयमा पुगिनसकेको बताइन्छ । कांग्रेसकै विशेष महाधिवेशन इतर पक्षले भने निर्वाचन पराजयको मुख्य कारण एमाले र कम्युनिस्टहरूसँगको सहकार्य हो भन्ने निष्कर्ष निकालेको गगन–विश्व समूह अहिले ओलीकै ढोका चाहर्न थाल्नु सत्ता लिप्सा भएको आरोप लगाएका छन् ।
डाक्टर शेखर कोइराला निकट तरुण दलका नेता नेत्र पौडेलले आफ्नै निर्णयको विरुद्धमा जानु लज्जास्पद भएको बताए । ‘कांग्रेस सत्ताभन्दा बाहिर बस्नै सक्दैन भन्ने उदाहरण यसले देखाएको छ ।
शेरबहादुर देउवाले गठबन्धन गरेर गलत गरे भनेर निर्णय गरेको डेढ महिना पूरा नहुँदै युटर्न हुनु नयाँ बोतलमा पुरानै रक्सी भनेजस्तै हो,’ पौडेलले भने । २०८१ पुस २७ गठित हिक्मतकुमार कार्की नेतृत्वको सरकारले कांग्रेससँग गठबन्धन गरेको भदौ २७० १८ महिना पुग्न लाग्दा मुख्यमन्त्री फेरबदलको चर्चा केही दिनयता जारी छ ।
यद्यपि सरकार फेरबदलको मिति भने अझै टुङ्गो लागेको छैन । नेपाली कांग्रेस बजेट असार १० अगाडि नै सरकार बदल्न चाहन्छ । एमाले भने आलटाल गरिरहेको स्रोत बताउँछ ।