हाईवे न्युज सम्वाददाता
बैशाख ३१ गते ।
चन्द्रपुर नगरपालिका–५ अन्तर्गत पूर्व–पश्चिम लोकमार्गसँग जोडिएको चाँदी पुल नजिक बिहीबार बिहान एक युवक रक्ताम्मे अवस्थामा मृत फेला परेपछि स्थानीय क्षेत्रमा त्रास र सनसनी फैलिएको छ।
बिहानै सडक किनारमा शव देखिएपछि स्थानीयवासी घटनास्थलतर्फ भेला भएका थिए भने घटनाबारे विभिन्न आशंका व्यक्त हुन थालेका छन्।
मृतक माधव नारायण नगरपालिका–१ दिपही निवासी २४ वर्षीय रंजय कुमार यादव रहेको प्रहरीले पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता विष्णु प्रदीप बस्याल का अनुसार बिहीबार बिहान करिब साढे ६ बजे स्थानीयवासीले सडक छेउमा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार मृतकको टाउकोमा गम्भीर चोट देखिएको छ। घटनास्थलको अवस्था हेर्दा घटना सामान्य नभएको प्रारम्भिक अनुमान गरिएको छ।
सवारी दुर्घटनाबाट मृत्यु भएको हो वा कुटपिटपछि शव फालिएको हो भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर बाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर सरकारी अस्पताल मा पठाएको जनाएको छ। स्थानीयवासीका अनुसार चाँदी पुल आसपासको क्षेत्र रातिको समयमा सुनसान रहने भएकाले अपराधिक गतिविधिको सम्भावना पनि नकार्न नसकिने बताएका छन्।
केही स्थानीयले राति सवारीसाधनको अस्वाभाविक आवाज सुनेको दाबी गरेका छन्, तर प्रहरीले यसबारे आधिकारिक पुष्टि गरिसकेको छैन। प्रहरीले घटनास्थल वरपरका व्यक्तिसँग सोधपुछ गर्नुका साथै आसपासका पसल, होटल तथा सडक क्षेत्रमा रहेका सीसीटीभी फुटेजसमेत संकलन गर्न थालेको जनाएको छ।
मृतकको मोबाइल फोन, उनी अन्तिम पटक कससँग सम्पर्कमा थिए तथा घटनाअघि कहाँ गएको थियो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको बताइएको छ।
प्रहरी स्रोतका अनुसार पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको वास्तविक कारण खुल्न सक्ने अपेक्षा गरिएको छ। हाल घटनालाई शंकास्पद मृत्युका रूपमा राखेर अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।