प्रमोद सहनी
बैशाख २६, पर्सा ।
पर्साको वीरगञ्जस्थित मानवसेवा आश्रममा जब असहाय, बेसहारा र जीवनसँग संघर्ष गरिरहेका ५८ जना आश्रितका हातमा ह्युमन लव च्यारिटी फण्डले खाजाको प्याकेट थमायो, त्यहाँ केवल खाना वितरण मात्र भइरहेको थिएन।मानवताको वास्तविक अनुहार देखिँदै थियो। राजनीति, भाषण र देखावटी समाजसेवाको भीडमा केही युवाहरूले चुपचाप दुःखीको आँसु पुछ्ने अभियान चलाइरहेका छन्। गरिबको भोक, एकल महिलाको पीडा, दाइजोको विकृति, अशिक्षा र अभावसँग लड्दै ह्युमन लव च्यारिटी फण्ड अहिले मधेसको ग्रामीण समाजमा आशाको नयाँ नाम बन्दै गएको छ।

मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने सन्देशलाई व्यवहारमा उतार्दै आएको ह्युमन लव च्यारिटी फण्ड ले पर्साको वीरगञ्जस्थित मानवसेवा आश्रममा आश्रित ५८ जना व्यक्तिलाई खाजा वितरण गर्दै मानवीय सेवा र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।
एक विशेष कार्यक्रमको आयोजना गरी आश्रममा रहेका असहाय, बेसहारा तथा मानसिक तथा शारीरिक रूपमा पीडित व्यक्तिहरूलाई खाजा वितरण गरिएको हो।
राजनीति, भाषण, प्रचारमुखी समाजसेवा र सामाजिक सञ्जालको देखावटी भीडबीच केही युवाहरू चुपचाप दुःखीको आँसु पुछ्ने अभियानमा जुटिरहेका छन्। गरिबको भोक, एकल महिलाको पीडा, दाइजोको विकृति, अशिक्षा, बेरोजगारी र सामाजिक विभेदसँग जुधिरहेको मधेसको ग्रामीण समाजमा अहिले एउटा नाम आशाको प्रतीक बन्दै गएको ह्युमन लभ च्यारिटी फण्ड हो।

संस्थाका संस्थापक अध्यक्ष मोहम्मद एजाज अन्सारी ले संस्था स्थापना गर्दाको संघर्ष सम्झँदै भने,“जब हामीले यो अभियान सुरु गरेका थियौं, धेरैले हाँसो उडाए। गाउँघरमा ‘यी युवाहरूले के गर्न सक्छन् र भन्ने प्रश्न उठ्थ्यो। तर हामीलाई विश्वास थियो। यदि मनमा मानवता छ भने सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। आज त्यही विश्वासले हामीलाई यहाँसम्म ल्याएको छ।”
उनका अनुसार सुरुवातमा संस्थाले आफ्नै वडा क्षेत्रभित्र रहेका आर्थिक रूपमा विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने सानो अभियान सुरु गरेको थियो। तर विस्तारै समाजको विश्वास बढ्दै गएपछि संस्थाले मधेसका विभिन्न ग्रामीण क्षेत्रमा पुगेर राहत, स्वास्थ्य, शिक्षा तथा सामाजिक चेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको हो।
अन्सारी भन्छन्,“समाजमा अझै धेरै परिवार भोक, अभाव र पीडासँग संघर्ष गरिरहेका छन्। सरकारको पहुँच नपुगेका ठाउँमा नागरिक स्तरबाट पनि सहयोग पुग्नुपर्छ भन्ने सोचका साथ हामी अघि बढेका हौं। हाम्रो उद्देश्य केवल फोटो खिच्ने वा प्रचार गर्ने होइन, वास्तविक पीडितसम्म सहयोग पुर्याउनु हो।”त्यस्तै संस्थाका उपाध्यक्ष दिपेन्द्र चौधरी सहनी ले सामाजिक सेवामा युवाहरूको भूमिकालाई अत्यन्त महत्वपूर्ण बताएका छन्।
उनले भने,“आजको पुस्ता केवल मोबाइल र सामाजिक सञ्जालमा सीमित भएर बस्न हुँदैन। समाजमा दुःखी, बेसहारा र सहयोगको प्रतीक्षामा रहेका मानिसहरूको जीवनमा परिवर्तन ल्याउन युवाहरू नै अघि आउनुपर्छ। हामीले सानो प्रयासबाट सुरु गरेको अभियान आज धेरै परिवारको आशा बनेको छ।”
उनका अनुसार संस्थाले हालसम्म सयौं गरिब तथा असहाय परिवारलाई खाद्यान्न, लत्ताकपडा, सिरक, डसना, औषधि तथा दैनिक उपभोग्य सामग्री वितरण गरिसकेको छ। विशेषगरी जाडो मौसममा न्यानो कपडा वितरण, विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कापी, कलम, झोला वितरण तथा किशोरीहरूलाई स्यानिटरी प्याड वितरण गरेर स्वास्थ्य तथा सरसफाइसम्बन्धी जनचेतना फैलाउने कार्य पनि निरन्तर भइरहेको छ।
मधेस प्रदेशमा अझै गहिरो“दहेजका कारण धेरै गरिब परिवार ऋणमा डुबिरहेका छन्। छोरी जन्मिँदा नै अभिभावक तनावमा बाँच्न बाध्य छन्। हामी यस्तो विकृतिको अन्त्य हुनुपर्छ भन्ने मान्यताका साथ गाउँगाउँमा जनचेतना फैलाइरहेका छौं।”
संस्थाका कोषाध्यक्ष मोहम्मद रेयाज हुसैनका अनुसार ह्युमन लव च्यारिटी फण्डले हालसम्म सयौं गरिब तथा असहाय परिवारलाई खाद्यान्न, लत्ताकपडा, बस्नका लागि आवश्यक सामग्री तथा अन्य दैनिक उपभोग्य वस्तु वितरण गरिसकेको छ। विशेषगरी एकल महिला, वृद्धवृद्धा, श्रमिक वर्ग तथा आर्थिक अभावमा रहेका परिवारको पीडामा मलम लगाउने काम संस्था निरन्तर गर्दै आएको बताइएको छ।
हिन्दु तथा मुस्लिम समुदायका विभिन्न चाडपर्वका अवसरमा समेत आवश्यक सहयोग गर्दै आएको संस्थाले धार्मिक सद्भाव र सामाजिक एकतालाई मजबुत बनाउन भूमिका खेलिरहेको स्थानीयवासी बताउँछन्।
संस्थाले विशेषगरी मुस्लिम समुदायका आर्थिक रूपमा कमजोर परिवारका छोरीहरूको विवाहमा उल्लेखनीय सहयोग गर्दै आएको छ। विवाहमा आवश्यक सम्पूर्ण खर्च, जन्तीको बसोबास, खाद्यान्न, लत्ताकपडा, फर्निचर तथा अन्य आवश्यक सामग्री उपलब्ध गराएर धेरै परिवारलाई राहत दिएको संस्थाले जनाएको छ।
त्यसैगरी मधेस प्रदेशका ग्रामीण क्षेत्रमा अझै पनि दाइजो अर्थात् दहेज प्रथाको विकृति कायम रहेको अवस्थामा ह्युमन लव च्यारिटी फण्डले बेहुला तथा बेहुली पक्षलाई सम्झाइबुझाइ गरेर कैयौं विवाह दहेजमुक्त बनाउन सफल भएको दाबी गरेको छ। सामाजिक कुरीतिविरुद्ध युवाहरूको यस्तो अभियानलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।
जाडो मौसममा विपन्न परिवारलाई न्यानो कपडा, सिरक तथा डसना वितरण गर्ने अभियान समेत संस्थाले सञ्चालन गर्दै आएको छ। त्यस्तै विभिन्न माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कापी, कलम, झोला वितरण गर्नुका साथै किशोरीहरूलाई स्यानिटरी प्याड वितरण गरेर स्वास्थ्य तथा सरसफाइ सम्बन्धी जनचेतना फैलाउने कार्य गरिएको बताइएको छ।
ह्युमन लव च्यारिटी फण्डका अध्यक्ष डा। मोहम्मद इमरान अन्सारीले आगामी दिनमा संस्थाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा अझ व्यापक काम गर्ने योजना रहेको जानकारी दिए।
उनले भने, “अब हाम्रो अर्को लक्ष्य भनेको ग्रामीण क्षेत्रमा स्वास्थ्यसम्बन्धी क्याम्प सञ्चालन गर्नु हो। विशेषगरी महिलामा देखिने पाठेघरसम्बन्धी समस्याको पहिचान र उपचारका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने, रक्त संकलन तथा रक्तदान कार्यक्रम अगाडि बढाउने योजना छ।”
अध्यक्ष अन्सारीका अनुसार आर्थिक अभावका कारण पढ्न नसक्ने प्रतिभाशाली बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने लक्ष्य समेत संस्थाले राखेको छ। उनले अझै पनि समाजमा धेरै अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय नपठाई श्रममा लगाउने गरेको भन्दै यसले बालबालिकालाई लागूऔषध दुर्व्यसन र विभिन्न कुलततर्फ धकेल्ने खतरा बढाएको बताए।
“हामी यस्ता बालबालिकाका लागि जनचेतनामूलक कार्यक्रम, काउन्सिलिङ तथा सामाजिक पुनर्स्थापनाका अभियान सञ्चालन गर्ने तयारीमा छौं,” उनले भने।
ह्युमन लव च्यारिटी फण्डले आफूलाई केवल राहत वितरण गर्ने संस्थाका रूपमा मात्र सीमित नराखी समाजमा सकारात्मक सोच, मानवता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने अभियानका रूपमा अगाडि बढाएको जनाएको छ।
संस्थाका अनुसार आजको समाजमा आर्थिक अभाव, बेरोजगारी, स्वास्थ्य समस्या, प्राकृतिक विपत्ति तथा सामाजिक असमानताका कारण धेरै नागरिक आधारभूत आवश्यकताबाट वञ्चित भइरहेका छन्। यस्तो अवस्थामा सरकारको मात्रै भर नपरी नागरिक स्तरबाट स्थापित सामाजिक तथा च्यारिटी संस्थाहरूले पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उनीहरूको भनाइ छ।
ह्युमन लव च्यारिटी फण्डले हालसम्म गरिब तथा विपन्न परिवारलाई राहत वितरण, बिरामीलाई उपचार सहयोग, शिक्षा सामग्री वितरण, प्राकृतिक विपत्तिमा राहत तथा उद्धार, रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, जनचेतनामूलक अभियान, असहाय बालबालिका, ज्येष्ठ नागरिक तथा महिलालाई सहयोगलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सामाजिक क्षेत्रमा काम गर्ने संस्थाहरू सफल हुन पारदर्शिता, इमानदारी, उत्तरदायित्व र जनविश्वास अत्यन्त आवश्यक हुने भन्दै संस्थाका पदाधिकारीहरूले “सहयोगको नाममा देखावटी अभियान होइन, वास्तविक पीडितसम्म सहयोग पुग्नुपर्छ” भन्ने मान्यताका साथ आफूहरू काम गरिरहेको बताए।

कार्यक्रमका प्रमुख सल्लाहकार मुकेश पटेल ले सामाजिक क्षेत्रमा काम गर्ने संस्थाका लागि पारदर्शिता र जनविश्वास अत्यन्त महत्वपूर्ण हुने बताए।
त्यस्तै सल्लाहकार जाहुर अहमद ले पछिल्लो समय सामाजिक सञ्जालमा देखावटी सहयोग बढिरहेको उल्लेख गर्दै वास्तविक पीडितसम्म पुग्ने अभियान नै साँचो समाजसेवा भएको धारणा व्यक्त गरे।
उनले भने, “आजकल धेरैले सहयोगभन्दा प्रचार बढी गरिरहेका छन्। तर ह्युमन लभ च्यारिटी फण्डले भने चुपचाप वास्तविक पीडितको घरसम्म पुगेर सहयोग गरिरहेको छ। यही कारणले समाजमा यसको विश्वास बढ्दै गएको हो।”
सल्लाहकार खुर्सेद अन्सारी ले मानवताको सेवा कुनै धर्म, जात वा समुदायमा सीमित नहुने बताउँदै सामाजिक सद्भाव कायम राख्न यस्ता संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए।सल्लाहकार खुर्सेद अन्सारी ले मानवताको सेवा कुनै धर्म, जात वा समुदायमा सीमित नहुने बताउँदै सामाजिक सद्भाव कायम राख्न यस्ता संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए।
उनले भने,“मानवता सबैभन्दा ठूलो पहिचान हो। दुःखीको सेवा गर्नु नै साँचो धर्म हो। समाजमा विभाजन होइन, सहकार्य र सद्भाव आवश्यक छ। ह्युमन लभ च्यारिटी फण्डले यही सन्देश बोकेर काम गरिरहेको छ।”
मानव सेवा, सामाजिक सद्भाव, दहेजमुक्त समाज निर्माण, शिक्षा र स्वास्थ्यको पहुँच विस्तार तथा युवाहरूलाई सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने कार्यमा सक्रिय ह्युमन लव च्यारिटी फण्डले आगामी दिनमा अझ व्यापक रूपमा सामाजिक अभियान सञ्चालन गर्ने विश्वास गरिएको छ।
आश्रममा रहेका मानसिक तथा शारीरिक रूपमा पीडित, बेसहारा तथा सडक जीवन बिताइरहेका व्यक्तिहरूसँग केही समय बिताउँदै संस्थाका सदस्यहरूले उनीहरूको अवस्था बुझ्ने प्रयास गरेका थिए।कार्यक्रममा संस्थाका पदाधिकारी, समाजसेवी, स्थानीय बुद्धिजीवी तथा युवाहरूको सहभागिता रहेको थियो।ह्युमन लव च्यारिटी फण्डमा हाल ११ सदस्य सक्रिय रूपमा आबद्ध रहेका छन्।