रौतहट,२१ बैशाख//
रौतहटको कटहरिया नगरपालिकामा ५५ वर्षीया एकल महिलामाथि ‘बोक्सी’ आरोप लगाउँदै कुटपिट र मलमुत्र खुवाउने जघन्य घटना सार्वजनिक भएको छ। घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
कटहरिया नगरपालिका वडा नं. ९ डुमरिया टोलमा शनिबार भएको उक्त घटनामा संलग्न रहेको आरोपमा ३० वर्षीय शंकर माझी पक्राउ परेका हुन्।
प्रहरीका अनुसार स्थानीय गौरी साह कलवारलगायतले ती महिलालाई ‘बोक्सी’ भन्दै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। कुटपिटकै क्रममा पीडितलाई जबरजस्ती मलमुत्र खुवाएर अमानवीय तथा अपमानजनक व्यवहार गरिएको जनाएको छ।
पीडित महिलाले आइतबार इलाका प्रहरी कार्यालय गरुडा मा जाहेरी दिएपछि प्रहरी टोली खटिएको थियो। सोही क्रममा संलग्नमध्येका शंकर माझीलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहट का सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्याल का अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ।
पक्राउ परेका माझीमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।