बारा,२१ बैशाख//
यस वर्ष बारामा किसानले लगाएको गहुँ बाली मौसम अनुकूल नहुँदा उत्पादनमा करिब २० प्रतिशतले कमी आएको छ।
कृषि ज्ञान केन्द्र का अनुसार गहुँ उत्पादनमा १७ हजार ९८० मेट्रिकटनले कमी आएको हो।
केन्द्रका प्रमुख राजनारायण साह ले चालु आर्थिक वर्ष २०८२/८३ मा २९ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको जानकारी दिए। उनका अनुसार प्रतिहेक्टर ३.१ मेट्रिकटन उत्पादन हुनुपर्नेमा यस वर्ष २.४८ मेट्रिकटन मात्र उत्पादन भएको छ। यससँगै कुल उत्पादन ७१ हजार ९२ मेट्रिकटनमा सीमित भएको छ।
उत्पादित गहुँ गुणस्तरीय भएकाले कलैया लगायत आसपासका बजारमा प्रतिक्विन्टल करिब ४ हजार रुपैयाँका दरले बिक्री भइरहेको केन्द्रका कृषि अर्थविज्ञ गणेश महरा ले जानकारी दिएका छन्।
गत आर्थिक वर्षमा भने ९६ हजार ६२० मेट्रिकटन गहुँ उत्पादन भई करिब ४ अर्ब २ करोड ५६ लाख ६० हजार रुपैयाँ बराबरको उत्पादन भएको थियो।