काठमाडौं,२० बैशाख//
बितेका २४ घण्टामा उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार १११ जना चालक कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा पाँच लाख ६५ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०९ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १८४ जना, ट्राफिक संकेत उल्लङ्घन गर्ने १०३ जना र तीव्र गतिमा सवारी चलाउने २२२ जनालाई कारबाही गरिएको हो।
त्यसैगरी ‘लेन’ अनुशासन उल्लङ्घन गर्ने १३८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६७ जना, सडक पेटीमा पार्किङ गर्ने ८६ जना, निर्धारित स्थानबाहेक यात्रु चढाउने/ओराल्ने ४२ जना तथा अन्य नियम उल्लङ्घन गर्ने १,१६० जना चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले नियम उल्लङ्घन नियन्त्रणका लागि अनुगमनलाई थप कडाइ गर्ने जनाएको छ।