काठमाडौं,२० बैशाख//
विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा काठमाडौंको बानेश्वरदेखि माइतीघरसम्म प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा विभिन्न सञ्चार माध्यम तथा सम्बद्ध संघ–संस्थामा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यस दिवसको पृष्ठभूमिमा युनेस्को को आयोजनामा अफ्रिकी राष्ट्र नामिबिया को विन्डहक सहरमा सम्पन्न पत्रकार सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो। सोही घोषणापत्रको सम्झनामा संयुक्त राष्ट्रसङ्घ ले सन् १९९३ देखि हरेक वर्ष यो दिवस मनाउने निर्णय गरेको हो।
आज विश्वभर प्रेस स्वतन्त्रताको महत्त्वबारे विभिन्न कार्यक्रममार्फत छलफल र बहस भइरहेको छ। नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको आवश्यकता औंल्याइएको छ।