काठमान्डौ,४ बैशाख //
नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, आफ्ना तर्फबाट रहेका मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेताहरूसँग छलफल गर्ने भएको छ।
पार्टीले वैशाख ६ गते सानेपास्थित केन्द्रीय कार्यालयमा छलफलका लागि सम्बन्धित नेताहरूलाई बोलाएको हो।
कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबीच समन्वय गर्ने जिम्मेवारी दिएको छ। बैठकमा कांग्रेस नेतृत्वका स्थानीय सरकारलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित छलफल हुने जनाइएको छ।
यससँगै गण्डकी प्रदेशमा मन्त्री हेरफेर गरिएको विषय पनि बैठकको एजेन्डा रहनेछ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रसँग परामर्श नगरी मन्त्रीहरू नियुक्त गरेको विषयमा पार्टीभित्र छलफल हुने बताइएको छ।
मुख्यमन्त्री पाण्डेले कांग्रेस र नेकपा एमालेबीच ४/४ मन्त्रालय बाँडफाँड गर्दै बुधबार मन्त्रीहरू परिवर्तन गरेका थिए।