काठमान्डौ,७ बैशाख //
उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन्। कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले कर्णाली प्रदेशको भौगोलिक विकटता र उच्च ढुवानी लागतका कारण यहाँका नागरिक पहिले नै महँगो जीवनयापन गर्न बाध्य रहेको उल्लेख गर्दै इन्धनको मूल्य वृद्धि झन् भार थप्ने बताए। “कर्णालीमा विकट भूगोल भएकाले आफैँमा खर्चिलो छ, यस्तो अवस्थामा डिजेल, पेट्रोल र ग्यासजस्ता अत्यावश्यक इन्धनमा मूल्य वृद्धि गर्नु उपयुक्त हुँदैन,” उनले भने।
घिसिङले छिमेकी देश भारतमा इन्धनको मूल्य स्थिर रहेको सन्दर्भ उल्लेख गर्दै नेपालमा भएको मूल्यवृद्धिले नागरिकमाथि अनावश्यक आर्थिक दबाब परेको दाबी गरे। उनले सरकारले मूल्यवृद्धि पुनरावलोकन गरी विशेष गरी कर्णालीजस्ता दुर्गम क्षेत्रका लागि सहुलियत दर लागू गर्नुपर्ने माग राखे।
उनले वर्तमान दुई तिहाइ बहुमतको सरकारलाई काम गर्ने वातावरण बनाउन आफ्नो पार्टी सकारात्मक रहेको पनि बताए। साथै, नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा कर्णाली क्षेत्रमा विद्युतीकरण र प्रसारण लाइन विस्तारका लागि करिब ३५ अर्ब रुपैयाँ लगानी सुनिश्चित गरिएको उल्लेख गरे।
उनका अनुसार १३२ केभी प्रसारण लाइनको काम जुम्लासम्म विस्तार भइरहेको छ। पार्टी संगठन विस्तारको सन्दर्भमा बोल्दै उनले छोटो समयमा पार्टी गठन भएकाले व्यवस्थापनमा चुनौती आए पनि आगामी निर्वाचनमा उनेपा सशक्त रूपमा प्रस्तुत हुने दाबी गरे।