काठमान्डौ,७ बैशाख//
गृहमन्त्री सुधन गुरुङ ले आफूले विभिन्न सेयर बजारमा गरेको लगानीको स्रोत ऋणबाट जुटाएको स्पष्ट पारेका छन्। विवादित पृष्ठभूमिका व्यवसायीसँग साँठगाँठ रहेको भन्दै मिडियामा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले लगानीको सम्पूर्ण विवरण बैंकिङ प्रणालीमार्फत पुष्टि हुने बताएका हुन्।
गृहमन्त्री गुरुङले आफ्नो फेसबुक वालमा लामो स्टाटस लेखेका छन। उनले भने , “बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ—कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ?” गुरुङका अनुसार आफ्नो आर्थिक कारोबार पारदर्शी रहेको र कुनै पनि शंका कागजातमार्फत स्पष्ट गर्न सकिने अवस्था छ।
लगानीको स्रोतबारे थप स्पष्ट पार्दै उनले विसं २०८० भदौ २९ गतेको लिखित तमसुकमा ऋण लिएको उल्लेख रहेको बताए। “मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, जसको लिखित तमसुक २०८०/०५/२९ मा तयार गरिएको छ र रेकर्डमा सुरक्षित छ,” उनले भने।
उनका अनुसार उक्त ऋण रकम बैंकिङ च्यानलमार्फत प्राप्त भएको र सोही रकम सेयर लगानीमा प्रयोग गरिएको हो। गुरुङले आफ्नो सम्पत्तिको स्रोत अनुमान वा आरोपको विषय नभई कागजात र बैंक रेकर्डले प्रमाणित गर्ने विषय भएको जिकिर गरेका छन्।
यस विषयमा उठेका सार्वजनिक चासोलाई सम्बोधन गर्दै उनले आवश्यक परे थप विवरण प्रस्तुत गर्न आफू तयार रहेको संकेत पनि दिएका छन्।