काठमान्डौ,७ बैशाख //
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सोधिएको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ।
सानेपास्थित केन्द्रीय कार्यालयमा सोमबार दिउँसो बस्ने अनुशासन समितिको बैठकले खड्कालाई दिइएको सात दिने स्पष्टीकरण फिर्ता लिने निर्णय गर्ने स्रोतले जनाएको छ। यसअघि वैशाख २ गते बसेको बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
अदालतले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई मान्यता दिइसकेको अवस्थामा स्पष्टीकरणको औचित्यता समाप्त भएको निष्कर्षसहित उक्त निर्णय फिर्ता लिन लागिएको बताइएको छ।
यता खड्काले भने अनुशासन समितिको उक्त निर्णयलाई सुरुदेखि नै ‘अवैधानिक’ भन्दै अस्वीकार गर्दै आएका छन्। उनले यसअघि सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै अवैधानिक महाधिवेशन र त्यसबाट बनेका संरचनाले स्पष्टीकरण सोध्नु निरर्थक, हास्यास्पद र अर्थहीन भएको बताएका थिए।