काठमान्डौ,६ बैशाख//
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने निर्णय गरेको छ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार बोलाएको बैठकले उक्त निष्कर्ष निकालेको हो।
बैठकले देउवा र खड्काले दायर गरेको रिट खारेज गर्दै विशेष महाधिवेशनबाट चयन भएको थापा नेतृत्वको टिमलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने निर्णय गरेको नेता मीन विश्वकर्माले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसलाई एकजुट बनाएर अगाडि बढ्ने विषयमा समेत छलफल भएको बताए। साथै, खड्काले निवर्तमान कार्यवाहक सभापतिकै रूपमा जिम्मेवारी निर्वाह गर्ने सहमति भएको जानकारी दिए।
स्वतन्त्र न्यायपालिकाको निर्णयलाई सधैँ सम्मान गर्दै आएको उल्लेख गर्दै उनले कानुनी र वैधानिक विषय टुंगिए पनि राजनीतिक विषय भने अझै बाँकी रहेको बताए।