पर्सा,६ बैशाख //
वीरगन्ज महानगरपालिकाले मुख्य सडक विस्तार अभियानअन्तर्गत अतिक्रमित संरचनामा डोजर चलाएको छ।
आइतबार बिहान गण्डक चोकदेखि भन्सार कार्यालयसम्मका अतिक्रमित संरचनामा महानगरले डोजर चलाएको हो।
महानगरका मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार नवराज फुयाँलका अनुसार करिब १ हजार २ सय अतिक्रमित संरचना भत्काइने छन्।
गण्डक चोकदेखि मितेरी पुलसम्मको मुख्य सडकलाई राष्ट्रिय राजमार्गको मापदण्डअनुसार दायाँ–बायाँ २५/२५ मिटर विस्तार गरिँदैछ।
सडक विस्तारअन्तर्गत पावरहाउस, मुर्ली, घण्टाघर, माईस्थान, आदर्शनगर, मकालु होटल चोक, बिर्ता, छपकैया हुँदै मितेरी पुलसम्मको क्षेत्र समेटिएको छ।
यस क्षेत्रभित्र २९ वटा सरकारी भवन र निजी स्वामित्वका करिब १ हजार २०० घर संरचना पर्ने फुयाँलले जानकारी दिए।
महानगरले सडक विस्तारसँगै यातायात व्यवस्थापन सहज बनाउने र सहरको दीर्घकालीन पूर्वाधार विकासलाई अघि बढाउने लक्ष्य राखेको जनाएको छ।