म्याग्दी,६ बैशाख //
८,०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्तयामको आरोहण सुरु भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ क्षेत्रमा पर्ने उक्त हिमालमा पहिलो टोलीले सफलतापूर्वक शिखर चुमेको हो।
सेभेन समिट ट्रेकका लाक्पा शेर्पाको नेतृत्वमा सात जना नेपाली र पाँच जना विदेशी पर्वतारोहीले शनिबार अन्नपूर्णको सफल आरोहण गरेका छन्।
आरोहण गर्ने विदेशी टोलीमा क्यानडाका चार्ल्स पेज, रुसका भालेरिय बाबानोभ, भ्लादिमिर अफानासेभ, युरी कुग्लोभ तथा अजरबैजानका इस्फार्ली असुर्ली रहेका छन्। नेपालीतर्फ लाक्पासहित छेवाङ, दावा नर्बु, पासाङ दुुङपा, छाङुबा, तारामान र पासाङ शेर्पाले पनि शिखर चुमेका छन्।
यसैगरी, शनिबार बिहान नेदरल्यान्ड र अष्ट्रेलियाका दुई आरोहीसहित एक शेर्पाले पनि सफल आरोहण गरेको जानकारी मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले दिएका छन्।
पर्यटन विभागका अनुसार यस वर्ष अन्नपूर्ण आरोहणका लागि चार समूहका २७ जनाले अनुमति लिएका छन्, जसबाट करिब १ करोड २० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।
अन्नपूर्ण संसारको दशौँ अग्लो हिमाल हो। सन् १९५० मा फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक यसको सफल आरोहण गरेका थिए। त्यसपछि सन् १९५३ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेर इतिहास रचेका थिए।
यस वर्ष अन्नपूर्ण आधार शिविरमा आरोही र पर्यटकहरूको चहलपहल समेत बढ्न थालेको छ।