बैशाख ०८ गते ।
एकपछि अर्को विवादमा परेपछि राजीनामाको दबाबबीच गृहमन्त्री सुधन गुरूङ अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् ।
विवादित व्यवसायी दीपक भट्टको लगानी रहेको कम्पनीमा साझेदारी, सम्पत्ति विवरण नै लुकाएको जस्ता विवादमा सुधन परेका छन् । यस्तोमा सुधनले पार्टी सभापति लामिछानेसँग उनको निवास बूढानीलकण्ठ पुगेर छलफल गरिरहेका छन् ।
उक्त छलफलमा प्रधानमन्त्रीले समेत स्पष्टीकरण सोधेको अवस्थामा रविले सम्भवतः सुधनलाई निकास दिन सुझाव दिन सक्ने बताइएको छ। सुधनलाई वालेन्द्रले केही निश्चित जिम्मेवारी दिएर गृहमन्त्री बनाएका थिए ।
सुधन र वालेन्द्र दुवै भदौमा भएको दमनमा संलग्न भएको आरोप लगाएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने कुरामा एकमत थिए ।
त्यसैगरी गत भदौको जेन–जी आन्दोलनपछि उनले रातारात लाखौँको शेयर किन्दा स्रोत खुलाउन नसकेको अर्को आरोप पनि सुधनलाई लागेको छ।
अनेक विवादपछि सुधनलाई प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार नै स्पष्टीकरण पनि सोधिसकेका छन् । यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साहलाई वालेन्द्रले स्पष्टीकरण नै नसोधी रविको सिफारिसमा सिधै बर्खास्त गरेका थिए ।
तर साहको भन्दा गम्भीर विवादमा मुछिएर अनेक प्रश्न उठे पनि सुधनलाई भने वालेन्द्रले स्पष्टीकरणको मौका दिएका छन् ।