रौतहट ,१७ बैशाख//
बागमती सिँचाइ आयोजना अन्तर्गत रौतहट क्षेत्रमा नहर अतिक्रमण गरी बनाइएका करिब ३५० देखि ४०० घर–टहरा हटाइने भएको छ।
आयोजनाले गत चैत २६ गते नै सातदिने सार्वजनिक सूचना जारी गर्दै नहरको दुवै किनारामा बसोबास गर्दै आएका स्थानीयलाई संरचना हटाउन आग्रह गरिसकेको थियो। तर समयावधिभित्र अतिक्रमित संरचना नहटाइएपछि अब बल प्रयोग गरी हटाउने तयारी गरिएको आयोजनाले जनाएको छ।
बागमती सिँचाइ आयोजना कर्मैयाका आयोजना प्रमुख सन्तोष चौधरीका अनुसार रौतहटको चन्द्रपुर नगरपालिका–५ र ६ क्षेत्रमा करिब २८ वर्षदेखि नहरको जमिन अतिक्रमण गरी बसोबास हुँदै आएको छ।
उनले चन्द्रपुरदेखि गुजरा नगरपालिकाको धन्सार खोलासम्म नहरको दुवै किनारमा करिब १२५ मिटर (पूर्वतर्फ ६५ मिटर र पश्चिमतर्फ ६० मिटर) क्षेत्र खाली गर्नुपर्ने बताए।
उनका अनुसार सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअनुसार सार्वजनिक जग्गा संरक्षण, डिजिटल अभिलेख, निगरानी प्रणाली सुदृढीकरण र अवैध कब्जा हटाउने अभियानअन्तर्गत यो कदम चालिएको हो।
चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्ले, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल तथा सुरक्षा निकायका प्रतिनिधिसहितको टोलीले स्थलगत अनुगमन गरी अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइने उनले बताए । करिब साढे तीन सयदेखि चार सयसम्म घर टहरा हटाइने चौधरीले बताए ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पनि नहर क्षेत्रको अतिक्रमण चाँडै हटाइने स्पष्ट पारेका छन्। उनका अनुसार स्वतः नहटाएमा संरचना भत्काइनेछ र आवश्यक छलफलपछि कार्यान्वयन अघि बढाइनेछ।
रौतहट क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलले बागमती सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजना भएकाले व्यवस्थित गर्नुपर्ने बताएका छन्।
स्थानीयवासीले भने वास्तविक सुकुमबासीको पहिचान गरी उचित व्यवस्थापन गर्नुपर्ने माग गर्दै नगरपालिका कार्यालयमा ध्यानाकर्षण गराएका छन्।