रौतहट ,१७ बैशाख//
रौतहट निर्वाचन क्षेत्र नं. ३ मा निर्माणाधीन आधा दर्जनभन्दा बढी पक्की पुल लामो समयदेखि अलपत्र अवस्थामा रहेका छन्। ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण चार ठूला पुलसहित अन्य पुलहरूको निर्माण कार्य प्रभावित भएको हो।
क्षेत्रका प्रतिनिधिसभा सदस्य रवीन्द्र पटेल ले बुधबार ती पुलहरूको स्थलगत निरीक्षण गर्दै निर्माण प्रगतिबारे जानकारी लिएका छन्। उनले स्थानीयवासीसँग छलफल गर्दै समस्या र गुनासो पनि सुनेका थिए।
निरीक्षणपछि उनले पुल निर्माणमा भएको ढिलाइप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै अब विस्तृत अध्ययन गरी छिट्टै ठोस निर्णय लिने बताएका छन्। “लामो समयदेखि पुल अलपत्र पारिएको रहेछ, ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने वा निर्माण व्यवसायीलाई कारबाही गर्नेबारे सरकारको ध्यानाकर्षण गराउँछौँ,” उनले भने।
सांसद पटेलले जनजीविकासँग प्रत्यक्ष जोडिएको यस्ता पूर्वाधार आयोजना यथास्थितिमा राख्न नसकिने उल्लेख गर्दै निर्माण कार्य शीघ्र सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन्। विशेषगरी वर्षायाममा पुल नहुँदा खोला तर्नुपर्ने बाध्यता, दुर्घटनाको जोखिम तथा जनधनको क्षतिलाई गम्भीर रूपमा लिनुपर्ने उनले बताएका छन्।
“अब कुनै बहाना हुँदैन, परिणाम देखिने गरी काम गर्नुपर्छ। तोकिएको समयभित्र काम सम्पन्न नभए ठेक्का रद्द गरेर नयाँ प्रक्रिया अघि बढाइन्छ,” उनले चेतावनी दिए।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर का अनुसार सडक ट्र्याक दुवैतर्फ खुले पनि पुल निर्माण नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन्।
गुजरा नगरपालिका–१ कोठियारस्थित कोठियार–ब्रह्मटोल तथा रङ्गपुर क्षेत्रको लमहा (गुजरा) खोला पुल २०७३ सालमै ठेक्का सम्झौता भई निर्माण सुरु भएको थियो। हालसम्म उक्त पुलको प्रगति करिब ५० प्रतिशत मात्रै पुगेको छ। तीन स्पानको सुपर स्ट्रक्चर तयार भए पनि एक्स्पान्सन जोइन्ट, एप्रोच सडक र रेलिङ निर्माणको काम अझै बाँकी रहेको छ।