रुकुमपूर्व,१७ बैशाख//
पुष्पकमल दाहाल प्रचण्ड आज रुकुमपूर्व आउँदैछन्। प्रतिनिधिसभा निर्वाचन जितेको करिब दुई महिनापछि उनी आफ्नो निर्वाचन क्षेत्रमा पुग्न लागेका हुन्।
नेपाली कम्युनिस्ट पार्टीका जिल्ला संयोजक कुमारी बरालका अनुसार प्रचण्ड बिहान १० बजे रुकुमकोट पुग्ने कार्यक्रम रहेको छ।
उनी हाल रुकुम पश्चिममा रहेकाले त्यहाँबाट रुकुमपूर्व पुगेर पुनः फर्किने कार्यक्रम तय भएको छ।
उनको यो भ्रमण मुख्य रूपमा चुनावी समीक्षा बैठकमा केन्द्रित रहने बताइएको छ। निर्वाचन जितेपछि फागुन २२ गते हेलिकप्टरमार्फत काठमाडौं फर्किएका प्रचण्ड त्यसयता जिल्लामा उपस्थित भएका थिएनन्।
चुनावअघि विकास, सडक, रोजगारी, समृद्धि र परिवर्तनका प्रतिबद्धता गरेका उनी जितेपछि लामो समय राजधानीमै व्यस्त रहेकाले यो भ्रमणलाई स्थानीयले विशेष चासोका साथ हेरेका छन्।
स्थानीय नागरिकहरूले यो भ्रमणलाई केवल औपचारिक राजनीतिक भेटघाट मात्र नभई चुनावी प्रतिबद्धताको परीक्षणका रूपमा लिएका छन्। उनीहरूले सडक, स्वास्थ्य, शिक्षा, रोजगारी र पूर्वाधार जस्ता मुख्य समस्यामा ठोस योजना आउने अपेक्षा गरेका छन्।