काठमाडौं ,१८ बैशाख//
नेपाल–भारत सीमा क्षेत्रमा भन्सार जाँच कडाइ गर्दा स्थानीय नागरिकले भोगिरहेको समस्या बारे सदनमार्फत सरकारको ध्यानाकर्षण गराइने गगन थापाले बताएका छन्।
शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ‘ग्रिन टेबल’ कार्यक्रमको पहिलो श्रृङ्खलामा बोल्दै उनले भन्सार कडाइका कारण सीमा आसपास बस्ने नागरिकको दैनिक जीवनयापनमै असर परेको बताएका हुन्।
थापाले भन्सार क्षेत्रमा कडाइ गर्दा सुरक्षाकर्मीबाट हुने व्यवहारले स्थानीयको आत्मसम्मानमा चोट पुगेको भन्दै व्यवहारिक पक्षलाई ध्यान दिन सरकारलाई आग्रह गरे।
उनका अनुसार भन्सार व्यवस्थापन राम्रो बनाउने नाममा नागरिकलाई अनावश्यक दुःख दिन नहुने भन्दै सीमामा हुने अव्यावहारिक अभ्यास अन्त्य गर्नुपर्ने आवश्यकता छ।
उनले कांग्रेस सरकारमा रहेका बेला सय रुपैयाँभन्दा माथिका सामानमा कर लगाउने नीतिका विषयमा पनि छलफल भएको तर जनदबाबका कारण पछि हट्नुपरेको स्मरण गरे।
थापाले सरकारलाई जनताका गुनासा सुन्न र सीमावर्ती नागरिकलाई अपराधी जस्तो व्यवहार नगर्न आग्रह गर्दै आवश्यक सुधार गर्नुपर्नेमा जोड दिएका छन्।