काठमाडौं,१८ बैशाख//
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गर्दै मूल्य घटाएको जनाएको छ।
निगमका अनुसार आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ। त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँले मूल्य घटाइएको छ।
तर हवाइ इन्धनको मूल्य भने बढाइएको छ। निगमका अनुसार आन्तरिक उडानतर्फ हवाइ इन्धनमा ७ रुपैयाँले वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ डलरले मूल्य बढाइएको छ।
नयाँ मूल्यसूचीअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ कायम भएको छ। यसअघि काठमाडौं, दिपायल र पोखरामा २१९ रुपैयाँ रहेको थियो भने सुर्खेत र दाङमा २१८ रुपैयाँबाट घटेर २१६ रुपैयाँ पुगेको छ।
निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजनका आधारमा मूल्य परिमार्जन गरिएको जनाएको छ।